काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा नराखिएको प्रति आपत्ति जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर राष्ट्रिय दलाली गरेको आरोप समेत लगाएका छन् ।
दूतावासको मूल भवनमा रहेको रिसेप्सनमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रविहीन पुरानै नक्सा देखिएपछि एमालेले चर्को रुपमा गठबन्धन सरकारको आलोचना गर्दै आएको छ ।
प्रधानमन्त्री देउवाले ‘सरकारका १०० दिन’ भन्ने पुस्तकमा समेत चुच्चे नक्सा नराखेर बुच्चे नक्सा राखेर कांग्रेसले दलाली गरेको एमालेले आरोप लगाएको छ । ।
एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भनेको थिए, ‘यसभन्दा राष्ट्रिय दलाली, राष्ट्रको गौरव निहुराउने लज्जाजनक कुरा अरू के हुन्छ ?’
ओलीले भारतबाट फर्किनुअघि चुच्चे नक्सा राखेर आउने–नआउनेबारे पनि प्रधानमन्त्रीसँग जवाफ मागेका थिए । ‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुरजी ?’ भन्दै प्रश्न गरेका थिए ।
यसैगरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री देउवाको आलोचना गर्दै भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसावले जसरी भ्रमणमा प्रस्तुत हुनुपथ्र्यो त्यो गर्न सक्नुभएन ।’
प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिए ।
‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ उनले भने । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएको उनले बताए ।
राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको इपिजी प्रतिवेदनको विषयमा कसैले मुख नखोलेको समेत उनले आरोप लगाए ।