रुपन्देही । सत्तारुढ दलहरुले सत्ता गठबन्धन भित्र चुनावी तालमेल गर्ने निर्णय गरे पनि केही स्थानीय तह तथा प्रदेशहरुले नै त्यसको प्रतिवाद गर्ने भएका छन् ।
चैत १७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर गठबन्धन गरेर जाने निर्णय गरेको थियो ।
यसैगरी चार दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले पनि स्थानीय परिस्थिति र आवश्यकता हेरेर आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको साथ लिएर चुनावमा जाने मनसाय भएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने अघिदेखि नै चुनावी तालमेलको पक्षमा थिए ।
चुनावी गठबन्धनबारे कांग्रेसभित्र लामो समयदेखि चर्को विवाद थियो । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा थिए भने संस्थापनइतर समूह गठबन्धनको विपक्षमा अडान राख्दै आएको थियो ।
तर, लामो विवाद र रस्साकस्सीपछि अन्ततः कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नै निर्णय गरेको थियो ।
यसैबीच लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको छ ।
लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापनइतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।
तर यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए । कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । “कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,” उनले भने ।
सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरेमात्रै तालमेल सम्भव हुने उनको भनाइ छ । “यसको जिम्मा पालिका कमिटीलाई नै छोडिदिनुपर्छ, कसैले निर्णय लादेको भरमा तालमेल सम्भव छैन,” उनले भने ।
कार्यकर्ताको भावनाविपरीत तालमेल गरिए अनपेक्षित परिणाम आउने पनि उनले चेतावनी दिए । “आमकार्यकर्ताको चाहना तालमेल नहोस् भन्ने छ, कार्यकर्ताको भावनाविपरीत अघि बढ्न खोजिए नसोचेको परिणाम आउँछ,” सभापति पुनले भने ।
कांग्रेस बुटवल उपमहानगर कमिटी सदस्य खेलराज पाण्डेले जिल्लामा गठबन्धनको संयन्त्र गठन भएकोबारे आफूलाई जानकारी नभएको बताए । संस्थापनइतर समूहका नेता पाण्डेले भने, “म काठमाडौंमा थिएँ, तालमेलका लागि संयन्त्र गठन भएकोबारे मलाई जानकारी भएन ।” कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले पार्टीलाई कमजोर पार्ने भूमिका कसैले खेल्न नहुने बताए ।
यसैगरी चितनवको भरतपुरमा समेत गठबन्धनको विषयमा कांग्रेस भित्र ठूलो विवाद छ । केन्द्रबाट गठबन्धनको निर्णय लादेर माओवादीालाई समर्थन गर्न गए चितवन कांग्रेसले त्यसको प्रतिवाद गर्ने जिल्लाका नेताहरुले बताउँदै आएका छन् ।