बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ सैनिक मञ्च टुँडिखेलमा आज हुने घोडेजात्राको रोचक कार्यक्रम

शुक्रबार, चैत्र १८ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिँदैछ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ ।
 
समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।
 
नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ । साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ ।
 
उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्ति टुँडिखेल गई सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नेछन् । 
 
घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ । दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ ।
  
परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताए ।