बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युक्रेनी सेनाले आत्मसमर्पण गरे गोलाबारी रोकिन्छ

बिहिबार, चैत्र १७ २०७८

एजेन्सी। घेराबन्दीमा रहेको युक्रेनी शहर मारिपोलमा रहेका युक्रेनी सैनिकले आत्मसमर्पण गरेपछि मात्रै गोलाबारी रोकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

तर यसअघि नै युक्रेनले कुनै पनि हालतमा आत्मसमर्पण नगरिने बताइसकेको छ।

युक्रेनी शहर मारिपोल लगातार रुसी आक्रमणको गम्भीर निशानामा छ । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा गरिरहेको आक्रमणको क्रममा सबैभन्दा बढी प्रभावित भएको शहर मारिपोलका बासिन्दा अत्यावश्यक सेवा बिना फसिरहेका छन् ।

तर रुसले भने गोलाबारी रोकेको छैन । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग गएको मंगलबार राति भएको टेलिफोन संवादको क्रममा पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गर्नु पर्ने माग गरेको रुसी राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

फ्रान्सका अधिकारीले भने मारिपोलमा फसेका बासिन्दाको सुरक्षित उद्धारका लागि मानवीय सहायता मार्ग खुला गर्नेबारे सोच्ने बताएको उल्लेख गरेका थिए ।

त्यसपछि रुसले बिहीबारका लागि मारिपोलमा फसेकाहरुको उद्धारका लागि मानवीय सहायता मार्ग खुला गर्ने बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान १० बजेदेखि सो मार्ग खुला हुनेछ ।

तर यसअघि पनि मानवीय सहायता मार्ग खुला गर्ने घोषणा गरेर आक्रमण नरोकेको भन्दै रुसको विश्वास गर्न नसकिने युक्रेनी अधिकारीले बताएका छन् ।

रुसले मारिपोलका अस्पताल, विद्यालय, आवासीय क्षेत्र, आश्रय लिएर बसेका क्षेत्रसहितलाई निशाना बनाएको छ । रुसी आक्रमणका कारण मारिपोलमा सर्वसाधारण मारिएका छन् । मारिपोलमा रुसले युद्ध अपराध गरेको युक्रेन तथा अन्तर्राष्ट्रिय समुदायले बताएका छन् ।