सुनसरी । उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको आयोजना तथा ग्रामीण उद्यम रेमिट्यान्स परियोजना (समृद्धि) को सहयोगमा सिकाइ, बाँडफाँड र योजना सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी इटहरीमा शुरु भएको छ ।
प्रदेश १ का सबै जिल्लाको उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको गोष्ठीमा केन्द्रका सभापति अरुणराज सुमार्गीले गोष्ठीले कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउने बिश्वास व्यक्त गरे ।
गोष्ठीलाई सम्बोधन गर्दै सुमार्गीले माटो सुहाउँदो कृषि योजना सरकारले अघि सार्नुपर्ने बताए । उनले कृषि उद्यम केन्द्रले सीप, प्रबिधि,प्राबिधिक र सहुलियतपूर्ण ऋण व्यवस्था गर्न सरकारसंग समन्वय गरेर अघि बढेको बताउदै अनुदानमा भारी कटौती गर्नुपर्ने धारणा व्यक्त गरे ।
सुमार्गीले कृषिको अनुसन्धान गर्न ७७ वटै जिल्लामा कृषि उद्यम तथा अनुसन्धान केन्द्रको स्थापना गर्न आवश्यक रहेको समेत बताए ।
गोष्ठीमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेन्द्र राउतले कृषिलाई उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उद्योग बाणिज्य महासंघका प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले नेपाल हरेक बस्तु आयात गरेर बाच्नपर्ने अवस्थाको अन्त्य गर्न कृषिमा व्यवसायीकरण गर्नुपर्ने आवश्यकता औल्याएका छन् । अध्यक्ष ढकालले देशका उद्योगहरुमा अघोषित लोडसेडिङ बढेको भन्दै सरकारले यसबारे प्रष्ट पार्नुपर्ने बताए ।
गोष्ठीमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शालिकराम दाहाल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल लगायत विभिन्न उद्योगी तथा व्यवसायीको उपस्थिति थियो ।