शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी र नेकपा एसले एक सिट जिते भने मेरो सम्पत्ति तिनीहरूको नाममा पास गरिदिन्छु : दुर्गा प्रसाई

बुधबार, चैत्र १६ २०७८

भक्तपुर ।  मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका छन् ।

भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको बुधबार उद्घाटन कार्यक्रममा उनले नेकपा एसले एक सिट पनि नजित्ने दाबी गरे । 

उनले भने, ‘अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

नेपालको कम्युनिष्टको नाममा रहेका बेइमानी र कुठाराघात गर्ने काम मात्र गर्दै आएको उनको दाबी छ । तालमेल बिना उनीहरुले एक सिट पनि नजित्ने प्रसाईले दाबी गर्दैै आएका छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेका प्रसाईले भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो । 

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । बजारमा दुई हजार २०० कक्ष रहेका छन् । चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईले बताए ।

‘किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो’, उनले भने। 
तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ ।