काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवा सिफारिसबारे छानबिन भइरहेको छ । लोक सेवा आयोगका अध्यक्ष संयोजक रहने बढुवा पुनरावलोकन समितिले छानबिन गरिरहेको हो । गृह मन्त्रालयले १ चैतमा तीन जना डीआईजीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको थियो । उक्त सिफारिसप्रति असन्तुष्टि जनाउँदै डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले लोक सेवा आयोगमा सचिवालय रहेको पुनरावलोकन समितिमा उजुरी दिएका थिए ।
केही दिन अघि उजुरीमा छानबिन भइरहेको लोक सेवा आयोगका अध्यक्ष तथा पुनरावलोकन समितिका संयोजक माधव घिमिरेले बताएका थिए । छानबिन भइरहेको र छिट्टै टुंगो लगाएर सरकारलाई प्रतिवेदन बुझाउने उनको भनाइ थियो ।
पुनरावलोकन समितिले बढुवा सिफारिस समितिबाट पत्र समेत पाएको छ । उजुरी परेसँगै पुनरावलोकन समितिले पत्र पठाएको थियो । सोही आधारमा समितिले सिफारिस कसरी गरेको भन्नेबारेको पत्र पुनरावलोकन समितिलाई पठाएको हो । समितिले विभिन्न प्रश्नसहित पत्र पठाएको थियो । सिफारिस समितिले प्रश्नको जवाफ तथा प्रतिक्रिया समेत पठाएको हो । पुनरावलोकन समितिले उक्त जवाफसमेत अध्ययन गरिरहेको छ ।
प्रहरी नियमावलीमा रहेको प्रावधानलाई टेकेर डीआईजीहरूले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएका थिए । बढुवा गरिएका तीन जनामध्ये पन्त र धानुक प्रधानमन्त्री शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिम प्रदेशका हुन् भने सिंह कर्णाली प्रदेशका हुन् ।
‘कार्यसम्पादन मूल्यांकन लगायतका अंक भारका कागजात झिकाई हेरी अन्यायपूर्ण भए सच्याई पाउँ’ भनी उजुरीकर्ताले उजुरी दिएका थिए । मूल्यांकनको अंकमा गडबड गरेको आशंकासहित उीहरूले उजुरी दिएका हुन् । अब पुनरावलोकन समितिले वरिष्ठता, कार्यसम्पादन मूल्यांकन अकं, अन्य कानुनसम्मत रहेनरहेको हेर्नेछ । यदि सोही आधारमा नभएको पाइए बढुवा सिफारिस समितिले गरेको सिफारिस उल्ट्याउन पनि सक्नेछ ।
उजुरी परेसँगै अहिले उक्त सिफारिस स्थगित भएको छ । अबको केही दिनभित्र उजुरी सुन्ने समितिले छानबिन गर्दै सोही आधारमा निर्देशन दिनेछ । नियमसंगत नदेखिएको खण्डमा बढुवा सिफारिस समितिले पुनः नयाँ सिफारिस गर्नुपर्नेछ ।