काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् ।
बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको सम्बन्धमा आज दिउँसो २ बजे एकैसाथ भर्चुअल माध्यमबाट एकसाथ अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।
कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको भोलिपल्ट ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।
अध्यक्ष ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै दल गठबन्धन गरेर आए पनि चुनावमा आफूहरू विजयी हुने दाबी गर्दै आएका छन् ।
तर,ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’ को गठबन्धन भन्दै आएका छन् ।
एमाले स्थायी कमिटी बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र निर्वाचनको मुखमा सरकारको भूमिका तथा गतिविधि अनुचित देखिएको दाबी गर्दै आपत्ति जनाएको थियो ।
दलहरूसँग कुनै परामर्श नगरी बिना औचित्य मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि दुई दिनको समय सत्तारूढ दल विशेषलाई अनुकूल हुनेगरी गरिएको भन्दै निर्वाचन आयोगलाई सच्याउन समेत आग्रह गरेको थियो ।