काठमाडौँ l नेपाली कांग्रेस स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने नीतिगत निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
प्रवक्ता महतले निर्णय कार्यान्वयनका लागि केन्द्रदेखि तल्लो तहसम्मै संयन्त्र बनाइने बताए। कांग्रेसको प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रले स्थानीय अवस्था हेरी कुन दलसँग तालमेल गर्ने भन्ने निर्णय गर्ने महतले बताए।
केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उनी पक्षीय नेताहरूले गठबन्धमा जाने धारणा राखेपनि डा. शेखर कोइराला पक्षका नेताहरूले गठबन्धन गर्न नहुने धारणा राखेका थिए।
चुनावी गठबन्धनमा पार्टीभित्र विवाद भएपछि मध्यमार्गी बाटोबाट आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिएको हो।