बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

देउवाको अभिव्यक्तिले प्रचण्डको मानमर्दन, आएन कुनै प्रतिक्रिया

सोमबार, चैत्र १४ २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डको मानमर्दन हुने गरी अभिव्यक्ति दिएका छन् ।

गत शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेपाली राजनीतिमा ‘परजीवी जस्तो’ भएको अभिव्यक्ति दिए । प्रचण्डले स्वार्थका लागि जस्तो सुकै कदम चाल्न सक्ने खालको देउवाको अभिव्यक्ति थियो । देउवाको त्यो भनाइले माओवादी अरु दलको सहायता बीना टिक्नै नसक्ने, चुनावमा जान्नै नसक्ने आसय प्रकट गर्थ्यो ।

 
पाँच दलीय गठबन्धन कायम राखेर चुनावमा जान नहुने भन्ने पार्टी भित्रका नेताहरुलाई जवाफ दिँदै देउवाले ‘प्रचण्डले हार्ने चुनाव लड्छन् ? एमालेसँग गएर मिलिदिन्छन्’ भन्दै प्रचण्डलाई पिँध नभएको लोटा जस्तो जतापनि ढल्कन सक्ने खालको अभिव्यक्ति दिएका थिए ।

देउवाले आफ्ना नेताहरुलाई गठबन्धन गरेर नलाने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने त्रास समेत देखाए । उनले भने, ‘भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ?’

उनको अभिव्यक्तिले माओवादी कमजोर रहेको, प्रचण्ड कसैको बैशाखी नटेकी हिड्नै नसक्ने,स्थीरता नभएको जस्तो भाव व्यक्त गर्थ्यो । देउवाले आफूविरुद्ध यो किसिमको अभिव्यक्ति दिँदा समेत नत प्रचण्डले न माओवादीका अरु कुनै नेताले यसको खण्डन नै गरेका छन् । अहिलेसम्म त्यस विषयमा प्रचण्डले औपचारिक रुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाबाट यस्तो प्रकारको मानमर्दन हुने गरी अभिव्यक्ति आउँदा समेत माओवादी केन्द्र भने लाचार भएर अझ चुनावी तालमेलको आशमा सुनेको नसुनै गरिरहेको छ । 

देउवाले आगामी चुनावमा गठबन्धन आवश्यक रहेको भन्दै अघिल्लो निर्वाचनमा जस्तै एमाले र माओवादी  मिलिदिए के गर्ने ? भन्दै प्रश्न समेत गरे ।

यस अघि पनि एक कार्यक्रमा कांग्रेस उपसभापति समेत रहेका नेता धनराज गुरुङले कांग्रेसलाई हात्ती र माओवादीलाई चमेराको संज्ञा दिँदै प्रचण्डले हात्तीका कानमा चमेराले गुँड लगाउन खोजेको बताएका थिए । कांग्रेसका कतिपय नेताले माओवादीलाई कांग्रेसको बैशाखीमा चुनाव जित्ने दाउका रुपमा अभिव्यक्ति दिँदै आएका छन् ।

तर, यत्रो १० बर्षे सशस्त्रद्धन्द्ध समेत छेडेर देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तनको मुख्य संवाहकको पगरी गुतेको माओवादी केन्द्र भने मुख दर्शक भएर कहिले कांग्रेसले सत्तागठबन्धन भित्र चुनावी तालमेलको पक्षमा निर्णय गर्ला भनेर पर्खिरहेको छ ।

यस अघिको स्थानीय तह निर्वाचनका बेला कांग्रेस र माओवादीको सम्युक्त सरकार थियो । उनीहरुले भरतपुर महानगर सहित केही स्थानमा चुनावी तालमेल समेत गरेका थिए । पछि माओवादीले एमालेसँग एकता गरेको थियो । 

सत्तारूढ पाँच दलीय गठबन्धन कायमै गरेर जानुपर्ने अडान राख्दै देउवाले गठबन्धनका विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरूप्रति लक्षित गर्दै उनले यस्तो प्रश्न गरेका थिए ।