बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बतास र यति समूहले फेरि ताके दुई महत्वपूर्ण दरबार

सोमबार, चैत्र १४ २०७८

काठमाडौँ l सम्पूर्ण मुलुकको ध्यान आसन्न तीनै तहको निर्वाचनतर्फ केन्द्रित भइरहँदा केही व्यापारिक समूह भने व्यापारिक दृष्टिले अति मूल्यवान नेपाल ट्रष्टको नाममा रहेको सरकारी भवन, जग्गा हात पार्ने कसरतमा लगातार लागिपरेका छन् ।

समाचार सूत्रकाअनुसार, राजा, महाराजले उपयोग गर्ने गरेको पोखराको फेवातालसँगै रहेको नेपाल ट्रष्टको सम्पत्ति रत्न मन्दिर र भरतपुरको नारायणी किनारमा रहेको दियालो बंगला हत्याउनका लागि यतिखेर बतास समूह सक्रय रहेकाे जानकारी हुन आएकाे छ ।

नारायणहिटी राजदरबारमा कफीसप खोलेर र भारत सरकारले २५ कराेड लागतमा निर्माण गरिदिएको तिलगंगास्थित नेपाल–भारत मैत्री धर्मशालालाई पाँचतारे होटलको रुपमा सञ्चालन गर्न थालेको भनेर चर्चामा आएको बतास समूहले नै उल्लेखित दुई  दरवार हत्याउने भएको छ ।

नारायणहिटी राजदरबारको दक्षिण ढोका अगाडि रहेको १ रोपनी ६ आना व्यापारिक दृष्टिले अति मूल्यवान २९ सय राेपनी जग्गासँगै गोकर्ण जंगल काैडीकाे मूल्यमा  हत्याउन सफल भएको यति समूहले पनि नेपाल ट्रष्टको अधिनमा रहेको पोखराको फेवा तालसँगैको रत्न मन्दिर र चितवन भरतपुरको नारायणी नदी किनारको दियालो बंगला हत्याउने कसरतमा रहेकाे स्राेत बताउछ । यी बतास र यति दुई शक्तिशाली समूह शक्ति केन्द्रलाई रिजाएर दुई दरवार हात पार्न लागिपरेको जानकारी हुन आएको छ ।

आउन लागेको तीनै तहको निर्वाचनका लागि राजनीतिक दललाई रकमको अभाव हुने निष्कर्ष निकाल्दै यी बतास र यति  व्यापारिक समूहले सत्ता गठबन्धनमा रहेका बलिया राजनीतिक दलका नेताहरुलाई आर्थिक प्रभावमा पारेर दियालो बंगला र रत्न मन्दिर काैडीकाे मूल्यमा हत्याउने र यी दुई  पूर्वराजाको दरबारलाई ५ तारे होटलका रुपमा उपयोग गर्ने योजनासमेत बनाउन थालेकाे स्राेत बताउछ ।

पोखरामा पनि पर्यटकीय दृष्टिले अति महत्वपूर्ण रहेको फेवातालसँगैको भव्य रत्न मन्दिर र चितवन भरतपुरमा नारायणी नदी किनारमा रहेको दियालो बंगलाप्रति पैसावाल पर्यटकहरुको विशेष आकर्षण हुने र राजदरबार भन्ने होटलमा रात बिताउनका लागि त्यस्ता पर्यटकले जति पनि पैसा खर्च गर्ने निष्कर्ष निकाल्दै निर्वाचनको मुखको अहिलेको समयको उपयोग गरेर नेपाल ट्रष्ट मातहत रहेका यी दुई दरबार हत्याउने प्रयासमा व्यापारिक घराना लागिपरेको  नेपाल ट्रष्ट स्रोत बताउछ ।

तर, अहिले नेपाल ट्रष्टको अध्यक्षमा प्रधानमन्त्री देउवाले कुनै मन्त्रीलाई नतोकेको कारण यी दुई दरबार लामो समयका लागि लिजमा लिने व्यापारिक घरानाले आफ्नो व्यापारिक प्रस्तावलाई अगाडि बढाएकाे पुष्टि भने हुन सकेकाे छैन । साँघु साप्ताहिकबाट