शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चुनावी तालमेलः कांग्रेस भित्र चर्को बहस, के गर्ला केन्द्रीय समिति बैठकले निर्णय ?

शुक्रबार, चैत्र ११ २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस भित्र चुनावी तालमेलका विषयमा चर्को विवाद भइरहेका बेला केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलसँग चुनावी तालमेल गरेर जाने कि एक्लै प्रतिस्पर्धा गर्ने भन्ने विषयमा पार्टीभित्र चर्को विवाद छ । यसैबीच कांग्रेसको केन्द्रीय समितिको बैठकमा  के कस्तो निर्णय हुन्छ ? सबैको चासो छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताइएको छ ।

बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय भएको छ ।

कांग्रेसले २९ फागुनदेखि थालेको घरदैलो अभियान २९ चैतमा सकिँदैछ । हालसम्मको प्रारम्भिक समीक्षा पनि हुुनेछ ।

सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकेका छन् । उनी सत्ता गठबन्धनबीच चुनावी तालमेलका विषयमा फरक धारणा राख्दै आउने नेता मध्ये एक हुन् । त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि तालमेलको विपक्षमा नै छन् । 

यस्तै संसदीय समिति गठनबारे पनि छलफल गर्ने कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति र प्रचारप्रसार मूल समिति गठन गर्ने तयारी रहको पार्टी केन्द्रीय कार्यालयका सचिव एवम् सूचना अधिकारी केशव रिजालले जानकारी गराए ।

संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका संसदीय समितिले विधान अनुसार तोकिएको तहको उम्मेद्वारको निर्णय गर्न पाउने विधानमा व्यवस्था छ ।  सोहि व्यवस्थाअनुसार स्थानीय तहको चुनाव लक्षित काम गर्न जिल्लाहरूलाई सर्कुलर जारी गरेको अवस्था सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले भने झैं सत्ता गठबन्धनबीचको चुनावी तालमेलका विषयमा कांग्रेसले कस्तो निर्णय गर्ला चासोको रुपमा हेरिएको छ ।

कांग्रेसको विधानले विभिन्न तहका निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि तहगत रूपमा संसदीय समितिको व्यवस्था गरेको छ । विधानको यही व्यवस्थाअनुसार कांग्रेसले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला, सात प्रदेश र केन्द्रमा गरी चार तहमा संसदीय समिति बनाउने तयारी गरेको हो । कांग्रेस विधानले निर्वाचनका लागि उम्मेदवार छान्न सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिको परिकल्पना गरेको छ । यी विभिन्न तहमा गठन हुने समितिले तहगत रूपमा निर्वाचनका लागि उम्मेदवार छान्ने अधिकार राख्छन् । पार्टीको विधानको दफा ३१ मा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा संसदीय समिति रहने उल्लेख छ ।

प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले आफ्नो क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडा तहका उम्मेदवारहरूको टुंगो लगाउने विधानको व्यवस्था छ । यही संसदीय समितिले गाउँ/नगर वडाका अध्यक्ष र सदस्यहरूको टुंगो लगाउने विधानले व्यवस्था गरेको छ । जिल्ला सभापतिको नेतृत्वमा रहने जिल्ला संसदीय समितिलाई सम्बन्धित जिल्लाभित्र रहेको गाउँपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाउने अधिकार विधानले दिएको छ । प्रदेश संसदीय समितिले भने प्रदेशभित्रका नगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने व्यवस्था गरिएको छ । महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अन्तिम अधिकार भने विधानले केन्द्रीय संसदीय समितिलाई दिएको छ । केन्द्रीय संसदीय समितिले नै प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाउने अधिकार विधानले दिएको छ ।

विधानको धारा ३१ को उपधारा १ मा कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनाअघि उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने उल्लेख छ । ती समितिले निर्वाचनका लागि उम्मेदवारी दर्ता हुनु एक महिनापूर्व अन्तिम निर्णय गरिसक्नुपर्ने विधानमा भनिएको छ । निर्वाचन आयोगले १२ र १३ वैशाखमा उम्मेदवारको मनोनयन दर्ताको मिति तोकिसकेको छ । 

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारूढ गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेलबारे छिटो निर्णय गर्न कांग्रेसलाई निरन्तर दबाब दिइरहेका छन् । सत्ता साझेदार दलको निरन्तर दबाबका कारण सभापति देउवाले शुक्रबारको बैठकमा चुनावी गठबन्धन गर्ने प्रस्ताव लैजाने तयारी गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन आफू पक्षिय जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।
बोहोराटारस्थित पौडेल निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने बुझिएको छ ।

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चुनावमा गठबन्धन गर्ने र त्यसका लागि पार्टीमा निर्णय गरेर अघि बढ्ने बताएका छन् ।  यसकारण पनि आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धनका दलहरूबीच चुनावी तालमेलबारे निर्णय गर्ने अपेक्षा गरिएको छ । 
बैठकले चुनावी तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा निक्र्योल गर्ने जानकारी दिँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘बैठकले आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे सैद्धान्तिक निर्णय गर्छ । सबै दलको लक्ष्य निर्वाचनमा बढी सिट जित्ने भन्ने हुन्छ । जे गर्दा बढी सिट जितिन्छ, त्यसैअनुसार निर्णय गर्ने हो । एक्लै लड्दा बढी जितिने देखियो भने त्यही गरौँ । सहकार्य गर्दा बढी जितिने भयो भने त्यहीअनुसार कसरी को को गठबन्धन गर्ने हो, त्यो गर्नुपर्छ ।’ 

पार्टीभित्रको संस्थापनइतर समूह भने चुनावी गठबन्धन नगर्न नेतृत्वलाई दबाब दिइरहेको छ ।

कांग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने बताएका थिए ।
इतर समूहले भने चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्न नमिल्ने दाबी गरेको छ । केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्न बुधबार काठमाडौंमा केन्द्रीय सदस्य डा शेखर कोइराला नेतृत्वमा बसेको इतर समूहको बैठकले गठबन्धन गर्ने निर्णय केन्द्रबाट गर्न नमिल्ने दाबी गरेको छ ।

पार्टीको विधानबमोजिम नै चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय केन्द्रीय कार्यसमितिले निर्णय गर्न नमिल्ने बताउँदै डा. कोइरालाले गठबन्धनबारे प्रष्ट धारणा राख्नसमेत आफूनिकट नेताहरूलाई निर्देशन समेत दिए ।

गठबन्धनको सन्दर्भमा अहिले केन्द्रले कुनै दलसँग पनि गठबन्धन गर्ने भनेर निर्णय गर्न मिल्दैन । पार्टीको विधानले नै तल्लो तहबाट टिकट वितरण गर्ने व्यवस्था गरेको छ । त्यसअनुसार माथिबाटै गठबन्धन गर्ने वा फलानोलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न मिल्दैन भन्ने बैठकको निष्कर्ष छ ।’ कोइराला पक्षको भनाइ छ ।

इतर समूहले सुरुदेखि नै आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा जानुपर्ने, अन्य दलसँग तालमेल गरेर गए पार्टी कमजोर हुने अडान राख्दै आएको छ ।