काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै फेरि नेपालका वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । तर, यतिबेला प्रमुख वामपन्थी दल नेकपा एमाले र अन्य दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ ।
सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता गर्दै अघि बढ्नु पर्ने धारणा राखेपछि यो विषय चर्चामा रहेको हो ।
तर, सोही बेला जवाफ अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने, पार्टीका सांसदलाई फुटाउन सभामुखको प्रयोग गर्ने र कांग्रेसको सेवा गर्नेहरू वाम नभएको उल्लेख गर्दै उनीहरूसँग एकता नहुने बताएसँगै त्यो च्याप्टर तत्कालका लागि क्लोज् भएको छ ।
बैठकमा एमाले अध्यक्ष ओलीले माओवादीका नेता–कार्यकर्ता एमालेमा आउन चाहे उनीहरूलाई उचित स्थान दिने भए पनि सिंगै पार्टी एकता गर्न नसकिने बताएका थिए । तर, स्थानीय निर्वाचन अघि पार्टी एकता नभएपनि स्थानीय निर्वाचनमा चुनावी तालमेल भने हुनसक्ने देखिन्छ ।
ठूलो वामपन्थी दल भएका कारण एमालेले गठबन्धन तथा एकताको पहलपदमी गर्नु पर्ने नेताहरुले बताइरहँदा अर्को वाम पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा समेत वाम गठबन्धन बनाउन दबाब रहेको समाचारहरु सार्वजनिक भएका छन् । माओवादीका नेता हरिबोल गजुरेलले अध्यक्ष प्रचण्डमाथि वाम गठबन्धन बनाउन दबाब रहेको बताउँदै आएका छन् ।
मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै एमाले नेता भुसालले हिजो एउटै दल नेकपामा रहेकाहरू प्रतिनिधि सभा विघटनपछि नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बने पनि यी तीन दलका बीचमा वैचारिक र सैद्धान्तिक समस्या नरहेकोले भिन्न पार्टी हुनुपर्ने कारण नभएको बताएका थिए ।
एमाले, माओवादी र एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने एमाले नेता भुसालले बताएका छन् । हालका लागि चुनावी गठबन्धनको वातावरण बनाउने र भविष्यमा वामपन्थी दलहरूबीच एकतामा जानुपर्ने उनको भनाइ छ । उनले वैचारिक र सैद्धान्तिक रूपमा एमाले, माओवादी र एकीकृत समाजवादीमा कुनै भिन्नता नभएको भन्दै एकै खालका तीनवटा पार्टी आवश्यक नभएको बताए ।
गत निर्वाचनलाई आधार मान्दा वामपन्थी दलहरुको मत राम्रो रहेको देख्न सकिन्छ । वामपन्थी दलहरुबीचको विभाजनको फाइदा कांग्रेसलाई पुग्ने निश्चय नै छ । त्यसैले पनि वामपार्टीहरु गठबन्धन गरेर चुनावमा जाँदा फाइदा पुग्ने भुसालको तर्क छ । तर नेताहरूका स्वार्थमा आधारित एकता नटिक्ने इतिहासले देखाएको उनको तर्क छ ।
कम्युनिस्ट आन्दोलन विभाजित भएको अवस्थामा मात्रै आफ्नो हैसियत देख्ने मानिसहरू वामपन्थी दलहरूबीचको एकताको विरोधमा लागिरहेको पनि भूसालको भनाइ थियो । इमानदार कार्यकर्ताहरूले एकताको तितो अनुभवबाट बिच्किएर विरोध गरेको र उनीहरूलाई प्रशिक्षित गरेपछि त्यो विरोध भने साम्य हुने उनको तर्क थियो ।
भुसालले वामपन्थी दलहरुबीचको गठबन्धन र एकताका लागि एमाले ठूलो दल भएको हैसियतमा अग्रसरता लिनु पर्ने बताइरहँदा तिक्तता भएका शीर्ष नेताबीच तत्काल त्यो कति संभव हुनसक्ला एउटा वहसको विषय बनेको छ ।
सोमबारको एमाले पोलिटब्यूरो बैठकमा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी लगातका दल वामपन्थी नभएको बताउँदै आसन्न चुनावमा ती दलहरुसँग गठबन्धन हुन नसक्ने बताएका थिए । पार्टी अध्यक्षले यसो भनिरहँदा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल वा एकताको विषय अघि बढ्ने सम्भावना न्यून देखिएको छ । राजनीतिक मुद्दा, विचारमा विवाद भएर तत्कालीन नेकपा विभाजित भएको थिएन । नेताहरुको सत्ता स्वार्थका कारण विभाजन भएका कारण तत्काल त्यो इगो समाप्त हुने सम्भावना न्यून देखिएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्दै आएका छन् । एमाले अध्यक्ष ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन भनेजस्तै घटना क्रम फरक ढंगले विकास हुन सक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।
यता कांग्रेस भने वामपन्थी दलहरुबीच चुनावी गठबन्धन बन्ने पो हो कि भन्ने त्रासमा रहेको छ । कांग्रेस सभापति समेतर रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटहरुलाई वामपन्थीहरु मिल्न सक्ने भन्दै चुनावमा अहिले गठबन्धनलाई निरन्तरता दिनु पर्ने बताइरहेका छन् ।
चुनावमा कांग्रेस गठबन्धन नगरि जानुपर्छ भन्दै लबिङ गरिरहेका शेखर कोइरालाले समेत वाम दलहरू फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताएका छन् ।
यसैपनि माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि एमालेसँगको गठबन्धनलाई भन्दा कांग्रेससँगको अहिलेकै गठबन्धनलाई चुनावसँग लैजान बढी जोड गरिरहेका छन् ।
उनीहरु हिजो पनि शैद्धान्तिक रुपमा नभएर व्यक्तिगत इगो र स्वार्थका कारण विभाजित हुन पुगेका थिए । एकअर्काालाई दोष देखाउँदै स्वार्थ केन्द्रीत राजनीतिमा वाम शक्तिहरु बढी लालायित भएको देखिन्छ ।
विश्लेषकहरुको भनाइलाई आधार मान्ने हो भने व्यक्ति इगो र टकरावका कारण वाम एकता प्रक्रिया अघि बढ्न कम्तिमा एउटा चुनावको परिणामलाई पर्खनुपर्ने हुनसक्छ ।