काठमाडौँ l अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीले किशोरीविरुद्ध भएको जबरजस्ती करणीको घटना लुकाउन भूमिका खेलेको दावीसहित जिल्ला अदालत तनहुँमा अभियोग पत्र दर्ता भएको छ ।
उनीविरुद्ध पनि शाहको आधा सजाय माग गर्दै मंगलवार अदालतमा मुद्दा दर्ता भएको हो। घटना बाहिर नआउनका लागि पल शाहले जोशीको तलब दोब्बर गरिदिएको बयान दिएका छन्। सुरुमा मासिक २५ हजार रुपैयाँको तलब पाउने उनलाई घटना लुकाउन भन्दै ५० हजार रुपैयाँ तलव पुर्याएका थिए।
‘शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि शाहले सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर पचास हजार रूपैयाँ तलब समेत दिई पुन: म्यानेजरको जिम्मेवारी दिएकाले…,’ जोशीले बयानमा भनेका छन्, ‘मैले पीडित नाबालिकालाई तिमीहरु एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउ, भविष्य राम्रो हुन्छ भन्दा पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीत संगीतमा सहयोग गर्छु भनेको थिएँ।’
यस्तो छ जोशीको बयान :
मैले पल शाह भन्ने पूर्णविक्रम शाहसँग मासिक २५ हजार तलब लिई म्यानेजरको रूपमा काम गर्दै आएको थिए। फिल्म, गीत, संगीत र विज्ञापन तथा स्टेज कार्यक्रममा शाह सहभागी हुने तथा अभिनय गर्न रकम, कार्यक्रम र समय निर्धारण गर्ने तथा सुटिङको क्रममा विभिन्न स्थानमा जाँदा सुटिङ टिमलाई बास बस्ने व्यवस्था मिलाउने समेतको जिम्मेवारी निर्वाह गर्दै आएको थिएँ।
शाहसँग अधिकांश समय सँगै हुने हुँदा पीडित नाबालिका र प्रतिवादीबीच प्रेम सम्बन्ध रहेको कुरा मलाई थाहा थियो। शाहसँग मेरो मनमुटाव भएपछि मलाई म्यानेजरको जिम्मेवारीबाट हटाएका थिए। २०७८ सालको असार अन्तिम हप्तातिर पीडित भनिएकी नाबालिगकले मलाई सम्पर्क गरी पूर्णविक्रम शाहले मलाई नराम्रो व्यवहार गरेको र वास्ता गर्न छाडेको बताएकी थिइन्।
म लगायतले पीडित र प्रतिवादी पूर्णविक्रम शाहलाई बुझ्दा नाबालिकाले आफूलाई पूर्णविक्रम शाहले माया प्रेम गरेको विश्वासमा पारी पटक पटक जबर्जस्ती करणी गरेका कारण म पीडामा छु भनेकी थिइन्।
प्रतिवादी पूर्णविक्रम शाहले गर्लफ्रेण्ड, ब्वाईफ्रेण्डबीचको अन्डरस्टान्डिङमा भयो हैन, तै पनि हामीसँगै हुँदा केही भयो होला स्वीकार्नै पर्छ, बिहे नै गर्नैपर्छ भन्न चाहिँ मिल्दैन भन्ने शब्दहरु बोलेका थिए।
प्रतिवादी पूर्णविक्रम शाह र पीडित नाबालिकाको सम्बन्ध बाहिरिँदै मिडियाहरुमा आएपछि प्रतिवादी पूर्णविक्रम शाहले मलाई सम्पर्क गरी अब तिमीले मलाई सहयोग गर्नु पर्यो भन्दै मलाई मासिक तलबमा वृद्धि गरी दोब्बर ५० हजार रुपैयाँ तलब समेत दिई पुनः म्यानेजरको जिम्मेवारी दिएका थिए।
त्यसपछि मैले पीडित नाबालिकालाई तिमीहरू एउटै क्षेत्रमा काम गर्ने हुँदा मिलेर जाउँ, भविष्य राम्रो हुन्छ भनेको हुँ। तर, पीडित पक्षले प्रहरीमा उजुरी गर्छु भनेकाले मैले दुर्गा अधिकारीलाई पीडित नाबालिका के गर्छिन्, कसो गर्छिन् हामीलाई खबर गर तिमीलाई मैले गीतसंगीतमा सहयोग गर्छ भनेको थिएँ।
तर, दुर्गा अधिकारीले भने अनुसार काम नगरेकीले उनलाई धम्कीपूर्ण म्यासेज पठाएको थिएँ। दुर्गाले पेस गरेको म्यासेज मैले पठाएको म्यासेज हो। देखी चिनेर सनाखत गरेँ। मैले पीडितलाई सम्झाउने क्रममा मलाई मान्छे मार्न केही जस्तो लाग्दैन भन्ने शब्दहरु प्रयोग गरेको हुँ।