शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद विघटन बारे एमाले नेता भुसालले राखे पार्टीको भन्दा फरक धारणा

मंगलबार, चैत्र ८ २०७८

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पुस ५ गते गरिएको संसद विघटनका विषयमा पार्टीको भन्दा फरक धारणा प्रस्तुत गरेका छन् । 

आज  वाम एकताको औचित्यबारे पत्रकारसँग छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाडेर अघि बढ्नुपर्ने बताए ।

उनले संसद विघटन गलत रहेको सर्वोच्चको फैसलाले बताइसकेको भन्दै यसलाई अब एमालेले समेत स्वीकार गर्नुपर्ने बताए ।

अदालतले यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने उनले बताए ।

यता एमालेले भने संसद विघटन सही रहेको र सर्वोच्चको परामादेश भने सेटिङमा भएको आरोप लगाउँदै आएको छ ।

यसैगरी भुसालले देशमा रहेका वामपन्थी दलहरु एक हुनुपर्ने दोहोर्याए । लोकतन्त्र र कम्युनिष्ट आन्दोलनलाई उचाइ दिन सैद्धान्तिक रुपमा एकै विचार भएका शक्ति एक हुनुको विकल्प नभएको उनले बताए । विशेषगरी एमाले, माओवादी केन्द्र र समाजवादी एकीकृतबीच समान विचारधारा, एउटै उद्धेश्य र उही आदर्श भएका कारण तीन पार्टी को अर्थ नभएको उनको भनाइ थियो ।

वामपन्थी पार्टीका मुख्य नेताहरु केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालले एकले अर्कालाई खतरनाक देख्नाले मुलुक गलत दिशामा गएको उनले बताए ।