शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

हल्लाको पछि नलाग्नुस्, हाम्रा मन्त्रीमा फेरबदल हुँदैन: माधव नेपाल

मंगलबार, चैत्र ८ २०७८

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने बताएका छन् ।

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भएसँगै त्यसमा सत्यता नभएको उनले स्पष्ट गरेका हुन् ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताए ।

उनले गलत र नियोजित रुपमा हल्ला फिजाइएको बताउँदै कार्यकर्तालाई हल्लाको पछि नलाग्न उनले आग्रह समेत गरे ।

‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनू ।’

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको समेत उनले बताए । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरुमा पनि सत्यता नभएको उनको दाबी थियो ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्रीसहित भवानी खापुङ राज्यमन्त्री छन् ।