बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालका कम्युनिस्ट मिलाउने चीनको नीति, विदेशमन्त्री यीले यसकारण तय गरे मिति

सोमबार, चैत्र ७ २०७८

काठमाडौं। हालै मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका थिए। उनले यसो बताइरहँदा उत्तरी छिमेकी चीनको उच्चस्तरीय भ्रमण टोली नेपालमा केही समयका लागि आउने तयारीमा रहेको छ। भारत भ्रमणमा जान लागेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको भूमीमा टेक्दै राजनीतिक भेटघाटपछि चैतको मध्यतिर आउने निश्चित भएको छ।

चुनावको मुखमा उनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाली कांग्रेस सत्ता गठबन्धनका दलहरूसँगको सहकार्यमा चुनावमा नजाने भएपछि चिनियाँ पक्षले कम्युनिस्ट पार्टीलाई गठबन्धन गरी जानका लागि दबाबपूर्ण परामर्श दिने बताइएको छ।

अघिल्लो चुनावमा एमाले र माओवादीले गठबन्धन गर्दा ठूलो बहुमत आएको थियो। त्यसबेला खुला रुपमा नै नेपालको आन्तरिक राजनीतिमा चीनको चलखेल बढेको थियो। नेकपा विभाजन रोक्नका लागि पनि चीनले ठूलो प्रयत्न गरेको थियो तर त्यसमा असफल भएको चोटलाई सुधार्न उच्चस्तरीय भ्रमण टोलीको अभ्यास हुने स्रोतले जनाएको छ।

‘नेपालमा भूराजनीतिक हस्तक्षेप बढेको छ। चीनले आफूलाई सहज हुनेगरी कम्युनिस्ट पार्टीको गठबन्धन गर्ने प्रयत्न गर्नेछ त्यसैका लागि पनि विदेशमन्त्री आउन लागेको सूचना पाएका छौं’, एक उच्च अधिकारी भन्छन्,‘कम्युनिस्टको बहुमत आएको खण्डमा नेपालमा अमेरिकी हस्तक्षेपमा धक्का लाग्नेमा चीन विश्वस्त छ।’

अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पारित गराउने या नगराउने भन्ने विषयमा सदन र सडक तातेका बेला चीन र अमेरिका नेपाल मामलामा आमने सामने भएका थिए। अमेरिकाले एमसीसी अनुमोदनका लागि दबाब दिएको चीनको ठहर थियो।

‘नेपालमा भूराजनीति चलखेल सुरु भइसकेको छ। हालै मात्र अमेरिकी सेनाको जहाज आउनु र त्यसको औचित्य के थियो भन्नेबारे खुलासा नहुनु एउटा कारण हो भने केही बुझेर नै चिनियाँ विदेशमन्त्रीसहितको टोली आउन लागेको हो’, उच्च स्रोतको दाबी छ,‘चुनावमा कम्युनिस्ट एकता गराउन सकेको खण्डमा चीनले पनि एक हदसम्म सफलता हात पारेको ठान्नेछ।’