काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला उद्घाटन र शिलान्यासमा व्यस्त छन् । राजधानीबाट विरल्लै निस्किने देउवा पार्टी र आफ्नो भूमिका देखाउन चुनाव केन्द्रित कार्यक्रमसँगै उद्घाटनमा व्यस्त भएका हुन् ।
देउवा आज पूर्वी नेपालको मोरङ जाँदैछन् । त्यहाँ उनी सुन्दरहरैचा नगरपालिकाकाद्वारा आयोजित तीन वटा कार्यक्रममा सहभागी हुनेछन् । सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन र वडा नम्बर ९ मा निर्माण हुने कृषि बजारको शिलान्यास र निर्मित नगर अस्पतालको उद्घाटन गर्ने छन् ।
त्यसपछि देउवा खोटाङ जाने कार्यक्रम छ । उनले त्यहाँ मोटरेबल पुल उद्घान गर्ने कार्यक्रम छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकको साप्सुखोलामा पुल बनेको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो साढे १२ बजे पुल उद्घाटन गर्नेछन्।
केही दिनअघि देउवा दोलखा पुगेका थिए । त्यहाँ उनले बिगु गाउँपालिका १ लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाअन्तर्गत रामेछापको मन्थली नगरपालिका १३ फूलासीमा निर्माण सम्पन्न भएको २२०–१३२ केभी नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गरे ।
यसैगरी प्रधानमन्त्री देउवा १ चैतमा नुवाकोट पुगेका थिए । त्यहाँ उनले किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन मात्र गरेनन् एमसीसीको विरोध गर्ने एमाले नेता भीम रावललाई ‘दिमाग फुस्किएको’ सम्म भन्न भ्याए । उनले रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको बताएका थिए ।
यसैगरी उद्घाटन कार्यक्रममा सहभागी हुन देउवा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँमा जाँदैछन् ।
नुवाकोट, रामेछाप, दोलखा र काभ्रे, मोरङ, खोटाङमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएका र भएपछि देउवा १० चैतमा तनहुँ जान लागेका हुन् ।
तनहुँ महोत्सवको उद्घाटन र एउटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न देउवा त्यसतर्फ जाने भएका हुन् ।
नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको चुनावको मुखमा औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी हुन भनेर गएपनि उद्देश्य भने चुनाव केन्द्रित गतिविधि बढाउने नै देखिएको छ ।
देउवाले आफु पुगेका सबै जिल्लामा पार्टी सभापति र कार्यकर्तासँग छुट्टै भेटघाट गरेर पार्टीको संगठन निर्माण र चुनाव केन्द्रित कार्यक्रम प्रभावकारी बनाउन निर्देशन समेत दिने गरेका छन् ।
देश निर्माण, विकास र सुशासनमा महत्वपूर्ण निर्णय गर्नु त कता हो कता चुनावका मुखमा आफ्ना पार्टीका स्थानीय नेताले बोलाएका भरमा प्रधानमन्त्री जस्तो व्यक्ति यसरी उद्घाटनमा केन्द्रित हुनु ठीक हो कि ! होइन भन्ने छलफलको एक पाटो हुनसक्ला ।
त्यसमाथि अरुबेला सत्ता हत्याउन लागि पर्ने नेता निर्वाचनको मुखमा यसरी उद्घाटन गर्दै देश दौडाहामा निस्कनुलाई जनताले कसरी हेर्लान् ? निर्वाचनको आचारसंहिता सुरु भएपछि प्रचार गर्न नपाउने भएकाले पनि नेताहरुलाई अहिले दौडधूप बढेको छ ।