शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसले चैतभित्रै स्थानीय निर्वाचनका उम्मेदवारको टुंगो लगाउने, विवाद भए केन्द्रले हेर्ने

आइतबार, चैत्र ६ २०७८

काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारको नाम चैतभित्रै टुंगो लगाउने भएको छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन् ।

प्रवत्ता महतले उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताए । 

‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक रहँदैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्रभित्रै टुंगो लगाउने कोसिस गर्छौं’, प्रेस युनियन सल्यानले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा भने । 

उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताए । तर, सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे । उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए । ‘जुन तहको हो उम्मेद्वारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उनले भने ।

नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।
निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने उनको भनाइ थियो ।