शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादीमा आएको जनताको उभारले १ नम्बर पार्टी हुने सम्भावना बढ्यो : प्रचण्ड

आइतबार, चैत्र ६ २०७८

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो ।’

उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।

जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए ।

’२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठूला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झण्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो,’ प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको  अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए ।

सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।