काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं युवा संघका इञ्चार्ज महेश बस्नेतले नेत्रविक्रम चन्द विप्लवलाई निर्वाचनमा सहभागी गराउने नाउमा सरकारले निर्वाचन सार्ने प्रयत्न गरेको आरोप लगाएका छन् l
युवा संघको बृहत् युवा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले विप्लवको पार्टी निर्वाचनमा भाग लिनु खुशीको कुरा भए पनि विप्लवलाई सहभागी गराउने नाममा चुनाव सार्ने कार्य अस्वीकार्य भएको बताए ।
‘विप्लव चुनावमा सहभागी हुनु खुशीको कुरा हो । केपी ओलीले सीके राउतसँगै विप्लवलाई शान्तिको मार्गमा ल्याएको हो,’ उनले भने, ‘तर विप्लवलाई ल्याउने नाममा चुनाव सार्ने कुरा गर्न पाइँदैन ।’ विप्लवले निर्वाचनमा भाग लिने निणर्य गरे गठबन्धन सरकारले चुनाव सार्न निर्वाचन आयोगलाई आग्रह गर्ने कुरा सुनिएको भन्दै नेता बस्नेतले भने, ‘यो कुरा निर्वाचन आयोगले अस्वीकार गरोस् । वैशाख ३० गते हुने निर्वाचन एक मिनेट पनि सार्न पाइँदैन । होइन भने हामी सडकमा उत्रिन्छौं ।’
बस्नेतले स्थानीय तहका जनप्रतिनिधि फेरि उम्मेदवार बन्न अगावै राजीनामा दिनुपर्ने प्रावधान पनि सच्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । ‘दोहोर्याएर भाग लिन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कुरा ठिक छैन । प्रधानमन्त्री र मन्त्रीले चुनाव लड्न राजीनामा दिनुनपर्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय जनप्रतिनिधिले राजीनामा गर्न लगाएर संविधानप्रदत अधिकार आयोगले खोस्न पाउँदैन । तत्काल सच्याओस्,’ उनले भने ।
उनले अहिले अर्थतन्त्र धराशायी भएको र अर्थतन्त्र धराशायी भएको टिप्पणी गरेका छन् । चुनावी गठबन्धनलाई लिएर माओवादी अध्यक्ष प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै उनले एमालेले कुनै हालतमा नस्वीकार्ने बताए । ‘कांग्रेसतिर फर्केर एमालेसँग मिल्छौं । केपी ओलीले नबोलाए पनि जान्छौं भनेर कांग्रेसलाई तर्साउने भन्ने । एमालेतिर फर्केर कांग्रेससँग तालमेल गर्छु भनेर धाक लगाउने गरेका छन् । एमालेले अब माधव नेपाल र प्रचण्डलाई बोलाउँदैन । जिताउँदैन,’ उनले भने ।
उनले सर्वोच्च अदालतका न्यायाधीशलाई निष्पक्ष भूमिका निर्वाह गर्न र सत्ताको स्वार्थ तथा प्रभावमा फैसला नगर्न आग्रह गरे । ‘न्यायाधीश ज्यूहरुलाई भन्न चाहन्छु, प्रचण्ड जस्तो हत्यारा, माधव नेपाल जस्तो हुतिहारा, शेरबहादुर जस्तो अलच्छिनी, पंगु, असक्षमका कुरा सुनेर बहकिनुभयो भने एमालेले न्याय कायम गर्न जस्तोसुकै कदम चाल्न सक्छ । आवश्यक पर्यो भनेर आन्दोलनको आँधीबेहरी ल्याउँछौं,’ उनले भने ।