बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‘ओली बैगुनी रहेनछन्, म कांग्रेसको पिछलग्गू भएर पो बिग्रिएको रहेछ, भनेर प्रचण्डले भने अचम्म नमाने हुन्छ’

शुक्रबार, चैत्र ४ २०७८

काठमाडौं । स्थानीय चुनावलाई लक्षित गरेर सत्तारुढ दलहरु चुनावी तालमेल गर्न खोजिरहेका छन् । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) अहिलेको गठबन्धनलाई निरन्तरता दिँदै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् ।

निर्वाचनको तालमेलको विषयमा माओवादीका नेताहरुको दिएको अभिव्यक्तिको यति बेला चर्चा हुने गरेको छ । मुख्यत: माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँग चुनावी तालमेल नगरे प्रमुख प्रतिपक्ष एमालेसँग पनि तालमेल हुनसक्ने भनि अभिव्यक्ति दिएका थिए । 
विशेषत सत्तारुढ दल कांग्रेस भित्र चुनावी तालमेलका विषयमा दुई धार देखिएको छ । कांग्रेसका दुई महामन्त्री लगायत केही दोस्रो पुस्ताका नेता चुनावी तालमेलको विपक्षमा रहेपछि चुनावी तालमेल गरेरै मात्र निर्वाचनमा जान जोडबलमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीलाई समस्या हुने भएको छ ।

यसैगरी अर्का नेता वर्षमान पुनले समेत एमालेसँगको तालमेलको ढोका खुल्लै रहेको बताउँदै आएका छन् । तर, एमालेका  नेताहरुले भने माओवादीसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताउँदै आएका छन् ।

एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले, ‘कांग्रेसले नमाने एमालेसँग चुनावी तालमेल गर्नेु माओवादी अध्यक्ष प्रचण्डको धारणाले माओवादी कति भयानक संकटबाट गुज्रिरहेको छ भन्ने त देखाउँछ नै, उहाँको अस्थिर, अवसरवादी र द्वैध चरित्रलाई थप उदांगो गर्दछ । विगतमा कांग्रेससँग सत्ता सहकार्य गर्दागर्दै एमालेसँग चुनावी तालमेल गरेर पार्टी जोगाए जस्तो सपना अब नदेख्दा छिटो ऐंठनबाट मुक्त हुन सकिएला । अन्यथा, ओरालो लागेको माओवादीलाई कांग्रेस र एमालेले पालैपालो बचाइदिन्छन् भन्ने भ्रम रहिरहन्छ । हाललाई यति भनौँ, कम्तीमा एमालेले चुनावमा फेरि उद्दार गरिदिन्छ भन्ने सोचेको भए त्यो दिवास्वप्न मात्र हो ।’ भनेका छन् ।

माओवादीका नेताहरुको  कांग्रेसलाई दिएको धम्की र घुर्कीपूर्ण अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ ।

माओवादीले ‘एमाले देखाएर कांग्रेस तर्साउने- सत्ता गठबन्धन देखाएर एमाले तर्साउने’ रणनीति लिएको विश्लेषकहरुले बताएका छन् । प्रचण्डको अभिव्यक्तिलाई उनीहरुले प्रचण्डको हरिबिजोकका रुपमा आएको अभिव्यक्ति भन्दै खिसी गर्न थालेका छन् । ‘यसबाट उनको हैसियत कस्तो छ ? भन्ने कुरा प्रष्टिन्छ,’ एक विश्लेषकले भने ।

प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर एमाले नेता निर्मल भट्टराई सामाजिक सञ्जालमार्फत  व्यङ्ग्य गर्छन्- ‘विगतमा केपी ओलीलाई लगाएका आरोप फिर्ता लिन्छु, उनी मैले सोचेजस्तो बैगुनी रहेनछन्, नेपालको कम्युनिष्ट आन्दोलन उनको नेतृत्वमा मात्र संभव रहेछ, सबै कुरा त म कांग्रेसको पिछलग्गु भएर पो बिग्रेका रहेछ त, भनेर प्रचण्डले भोलितिर भाषण गरे भने ?’