शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 पिकअपको ठक्करबाट गौरमा दुई युवकको मृत्यु, दुई घाइते

बिहिबार, चैत्र ३ २०७८

रौतहट । पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियोको ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन् । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उपचार भैरहेको डिएसपी भण्डारीले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्डेलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानै देखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी  चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।