काठमाडौँ । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होली पर्वका नाममा जथाभाबी रुपमा गैरकानुनी कार्य गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिंड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी गाडीबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पर्वका नाममा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरेकी छन् । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताइन् ।
सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ-आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सु-संस्कृतिरुपमा मनाउन आह्वान गरिन् ।
उपत्यकामा १३ सय ट्राफिक प्रहरी परिचालन, ६८ स्थानमा चेकिङ
होलीलाई मर्यादित र दुर्घटना रहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा १,३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ । बिहानैदेखि मापसे परीक्षणमा पनि कडाइ गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।
उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने, मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे राख्ने, सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी सवारी चलाउने, सवारी चालक अनुमतिपत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ ।