शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चोलेन्द्रविरुद्धको महाभियोग अब के हुन्छ ?

बुधबार, चैत्र २ २०७८

काठमाडौँ l संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधार २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ ।

संसद अधिवेशन अन्त्यसँगै फागुन १ गते संसदमा दर्ता भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ । संसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग सिफारिस समिति गठन गरेको थियो । चैत २ गतेका लागि डाकिएको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुनेसमेत बताइएको थियो । यस्तो अवस्थामा महाभियोग प्रस्ताव के हुन्छ ? सबैमा चासो जागेको छ ।

अधिवक्ता रामनारायण बिडारीले संसद् अन्त्य भए पनि सिफारिस समितिले नियमित काम गर्ने बताए । ‘वर्षे अधिवेशन आएपछि समितिको निष्कर्ष संसदमा पेस हुन्छ । अहिलेको अधिवेशनले बनाएको समितिले काम गर्दै जान्छ ।’

गत फागुन १ मा सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङ प्रस्ताव रही जबराविरुद्ध महाभियोग दर्ता भएको थियो । महाभियोग दर्ता भएसँगै प्रधान्यायाधीश जबरा निलम्बित भएका छन् । उनले महाभियोगको सामना गर्ने यसअघि नै बताइसकेका छन् ।

महाभियोग प्रस्तावमा जबराले संविधानको पवित्र उद्देश्य भताभुंग पारेको भनिएको छ । ‘संविधानको पवित्र उद्देश्य र संवैधानिक दर्शनलाई सम्पूणर्रुपमा भताभुंग र नष्ट गर्नेगरी स्वयं पदासीन निज प्रधानन्यायाधीशबाट उक्त संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले देखादेख दुरुपयोग गरेकाले नेपालको सिंगो न्याय क्षेत्र र कानुनको रक्षा एवं सक्षम न्यायपालिकाको सुदृढ गर्नुपर्ने अहं दायित्व बोकेका प्रधानन्यायाधीशले सो अनुरुपको कर्तव्य पालना गर्न असक्षम भएको देखिएको छ,’ प्रस्तावमा भनिएको छ ।