शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अमेरिकाले ‘विकृत सूचना’ फैलाएको चीनको आरोप, शान्ति र संवादमार्फत युद्ध अन्त्य गर्न चीनको अनुरोध

मंगलबार, चैत्र १ २०७८

बेइजिङ । बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले ‘विकृत सूचना’ फैलाएको आरोप लगाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘अमेरिकाले युक्रेन मुद्दमा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।’

चीनले रुसलाई उपकरण सहयोग गरेको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रुस–युक्रेन युद्ध अनुमानितभन्दा निकै बढी दिन लम्बिइरहेका बेला ‘रुसले चीनसँग सैन्य सहयोग मागेको’ अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । युक्रेनमा अतिक्रमण सुरु गरेदेखि नै ‘रुसले चीनसँग सैन्य उपकरण’ मागेको अमेरिकास्थित विभिन्न संचारमाध्यमले जनाइरहेका छन् ।

समाचार सार्वजनिक भएसँगै रुसलाई सहयोग नगर्न अमेरिकाले चीनलाई चेतावनी दिएको छ । मस्कोलाई सहयोग गरेको खण्डमा बेइजिङले ‘कठोर परिणाम’ सामना गर्ने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानको चेतावनी छ ।

अमेरिकाको उक्त दाबीको चीनले कडा शब्दमा आपत्ति जनाएको हो । चीनले शान्ति र संवादमार्फत युद्ध अन्त्यका लागि अनुरोध गर्दै आएको बताउँदै यस बिषयमा आफूले रचनात्मक भूमिका खेलिरहेको चीनको दाबी छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेको दुई साता नाघिसकेको छ । अमेरिकी नेतृत्वमा विभिन्न देशले ‘रुस–युक्रेन युद्धमा आगोमा घिउ थपेका’ चीनले आरोप लगाउँदै आएको छ ।

चीनले अहिलेसम्म युक्रेनमा भइरहेको आक्रमणमा आफूलाई तटस्थ देखाउने प्रयास गरेको छ र आक्रमणको निन्दा गरेको छैन ।

यसैबीच रूस–युक्रेन वार्ता प्रत्येक दिन भिडियो मार्फत चलिरहेको भएपनि वार्ताले सार्थकता पाउन सकेको छैन ।

रूसी प्रतिनिधिमण्डलका प्रमुख तथा राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्सकीले  हरेक दिन हप्ताको सातै दिन, युक्रेनको प्रतिनिधिमण्डलसँग भिडियोमार्फत वार्ता जारी रहेको बताएका छन् ।