काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न छुट्टै संयन्त्र बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय बैठकबाट संयन्त्र बनाइने बताए ।
एकीकृत समाजवादीको सचिवालय बैठक कहिले बस्ने भन्ने मिति भने टुंगो लागि सकेको छैन । गठबन्धनका लागि संवाद थाल्न सयन्त्र बनाएर अघि बढ्ने एकीकृत समाजवादीले निर्णय गरेको छ ।
स्थानीय निर्वाचनमा एकीकृत समाजवादी गठबन्धन बनाएर जानुपर्ने पक्षमा छ ।
कांग्रेस नेतृत्वमा रहेको वर्तमान पाँच दलीय गठबन्धन ८ जेठमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि बनेको हो ।
गठबन्धन बनाउन अधिक जोडबल गर्ने नेताहरू माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत गठबन्धन बनाएरै निर्वाचनमा जाने पक्षमा छन् ।
सरकारमा सामेल माओवादी र एकीकृत समाजवादीले भरसक सत्ता गठबन्धनका चारै दलबीच चुनावी गठबन्धन गरेर जान चाहान्छन् नभएपनि विचार मिल्ने दलहरुको गठबन्धनमा चुनावमा जाने मनसायमा रहेको बताउँदै आएका छन् ।
एमालेसँग निर्वाचनमा सहमति कायम राख्ने कुनै सम्भावना नरहेको बताउँदै माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेससँग कतिपय स्थानमा गठबन्धन गरी जान सकिने बताउँदै आएका छन् । उनले माओवादी विचारधारा मिल्ने वामपन्थी दलसँग गठबन्धन गरी निर्वाचन जानसक्ने बताएका थिए ।
सत्ता नेतृत्व गरेको नेपाली कांग्रेसमा भने यस विषयमा टुंगो लागिसकेको छैन । कांग्रेसमा चुनावी गठबन्धनका विषयमा दुई धार छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनबारे सकारात्मक हुँदा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस एक्लै चुनावी मैदानमा जानु पर्ने बताउँदै आएका छन् ।
महामन्त्री थापाले निर्वाचनमा गठबन्धन गरेर जाने सम्बन्धमा आफ्नो पार्टीमा कुनै निर्णय नभएको बताएका छन् । कुडा कर्णाली उत्सवका लागि केही दिन अघि सुर्खेत पुगेका बेला उनले गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय कांग्रेसले नगरेको बताएका थिए । तर, यसबारे के गर्ने भन्ने विषयमा एकमहिने चुनावी अभियान पछि मात्र निर्णय गरिने कांग्रेसले बताएको छ ।
कांग्रेसले एकमहिने चुनावी अभियान सुरु गरिसकेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऊँ कांग्रेस जिताऊँ’ अभियान आइतबारबाट सुरु भएको हो ।