बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जलवायु परिवर्तनका कारण पुगेको क्षतिको प्रभावित राष्ट्रले क्षतिपूर्ति पाउनुपर्ने : मन्त्री भुसाल

सोमबार, फाल्गुन ३० २०७८

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताएकी छन् ।

यहाँ आज आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको उल्लेख गरिन् ।

उनले भनिन्, “जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका बस्तीमा बढी देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत् आयोजनामा समेत निकै असर परेको छ ।” मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
  
“जलवायु परिवर्तनका असर बढाउने मुलुकहरूले प्रभावित राष्ट्रलाई उचित क्षतिपूर्ति दिनुपर्छ ।” उनले भनिन् ।  जलविद्युत् आयोजना गुणस्तरीय र भरपर्दो तवरले निर्माण गर्न तथा विभिन्न प्रकोपका कारण आइपर्ने जोखिमबाट सुरक्षित राख्न आवश्यक रहेको उल्लेख गर्दै मन्त्री भुसालले आयोजनाको दीगो विकासका लागि सुरक्षित कदम चाल्नुपर्ने बताइन् । 

जलविद्युत् आयोजना सुरक्षित नभएमा देशकै अर्थतन्त्रमा असर पर्न सक्नेतर्फ सचेत गराउँदै उनले जोखिम न्यूनीकरण गरी आयोजना निर्माण गर्नका लागि आवश्यक नीति तथा निर्देशिका बनाउन तथा विभिन्न निकायसँग समन्वय गर्न उर्जा मन्त्रालयले आवश्यक पहल गर्ने विश्वास दिलाइन् ।

जलवायु परिवर्तनको प्रभावले यही वर्ष दुई पटक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति व्यहोर्नु परेको स्मरण गर्दै मन्त्री भुसालले इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकाले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी जोखिम न्यूनीकरणमा खेलेको भूमिकाको प्रशंसा गरिन् ।

सो अवसरमा मन्त्री भुसालले उत्पादित विद्युत्लाई देशभित्रै खपत बढाउन तथा छिमेकी राष्ट्रलाई निर्यात गर्न आवश्यक नीति नियम तथा वातावरण तयार गरी जलविद्युत्को दीगो विकासका लागि निरन्तर प्रयास गरिरहेको जानकारी दिइन् ।