शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रुसलाई सहयोग नगर्न चीनमाथि अमेरिकाको दबाब, अटेर गरे आर्थिक दण्डको चेतावनी 

सोमबार, फाल्गुन ३० २०७८

न्युयोर्क । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् ।

भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ ।

चीनले रुसलाई निरन्तर सहयोग गरेमा उसलाई विश्वव्यापी रुपमा एक्ल्याउने सुलिभानले चेतावनी दिने एक अमेरिकी अधिकारीलाई हवला दिँदै सो समाचार संस्थाले जनाएको हो । 

अमेरिका र अन्य देशका अधिकारीहरूले पछिल्ला सातामा चीनलाई स्पष्ट पार्न खोजेका छन् कि रुसको पक्षमा रहँदा उसले व्यापार प्रवाह र नयाँ प्रविधिको विकासमा मूल्य चुकाउनु पर्नेछ । 

यसअघि अमेरिकी वाणिज्यमन्त्री जीना रेमन्डोले रसिया निर्यातमा अमेरिकी प्रतिबन्धको उल्लंघन गर्ने चिनियाँ कम्पनीहरूले आफ्ना उत्पादनहरू बनाउन आवश्यक पर्ने अमेरिकी उपकरण र सफ्टवेयरबाट काट्न सक्ने चेतावनी दिएकी थिइन् ।

यसैबीच युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ । 
चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी   चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ८ः५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ । चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ ।
युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ । 
रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ । जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ । 

-एजेन्सी