शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माधव नेपालसहित १४ सांसदविरुद्ध दायर मुद्दामा आज सुनुवाई हुँदै

आइतबार, फाल्गुन २९ २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले नेता माधवकुमार नेपालसहित १४ सांसद निष्कासन सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ ।

सर्वोच्चमा एकीकृत समाजवादीको वैधानिकता र सभामुखविरुद्ध एमालेले दायर गरेको रिटको पेसी तोकिएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलसामा पेसी रहेको छ ।

अध्यक्ष ओलीले लुम्बिनी प्रदेशका दुई सांसदको निष्कासनको कारबाही अघि नबढाएकोमा लुम्बिनी प्रदेशका सभामुखलाई समेत विपक्षी बनाएका छन् । एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका विमला वली र अजय शाहीलाई निष्कासन गरिएको सूचना सभामुखले प्रकाशन नगरेकोमा एमाले अदालत गएको हो ।

उक्त रिट खतिवडा र चुडालको इजलासमा तेस्रो नम्बर पेसी रहेको छ। सम्भवतः उक्त मुद्दा सुनुवाइको पालो आउने देखिन्छ। 
एमाले विभाजन हुँदा सभामुख अग्नी सापकोटाले असंवैधानिक कदम चालेको भन्दै संसद् अवरुद्ध गरेको एमालेले संसद र सर्वोच्च दुवैमा दाबी गरिरहेको छ।

यसअघि उक्त मुद्दामा  न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै  निर्वाचन आयोग र संसद्सँग सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश गरेको  थियो।

अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।