काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक पार्टी संघर्ष चलिरहेको छ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शक्ति संघर्ष चर्किएको हो । पछिल्लो समय जसपाभित्र एकल र सामूहिक नेतृत्वको विषयले आन्तरिक संघर्ष चलिरहेको हो ।
आन्तरिक शक्ति संघर्ष चलिरहेका बेला जसपाको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठकमा शनिबार सम्पन्न संघीय परिषद् बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्ने, आगामी बैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचन, पार्टीको आन्तरिक विवाद समाधान, सांगठनिक विषय र विधान सम्मेलनलगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
केन्द्रीय अध्यक्ष यादव एकल नेतृत्वको पक्षमा छन् भने संघीय अध्यक्ष डा. भट्टराई सामुहिक नेतृत्वको पक्षमा छन् । आन्तरिक संघर्षका कारण जसपा फुटको संघारमा पुगेको खबरहरू सार्वजनिक भए पनि पार्टीका नेताहरूले भने तत्काल त्यो सम्भावना नरहेको जिकिर गर्दै आएका छन् ।
यसअघि बसेको संघीय परिषद्को पहिलो बैठकले केन्द्रीय समितिको बैठकका लागि राजनीतिक प्रतिवेदन तयार पारेको थियो । संघीय परिषद्को बैठकमा संघीय परिषद् अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष भट्टराईले भूराजनीति, पार्टीको मार्गदर्शक सिद्धान्त, नेकपा सरकारको असफलता, संविधान संशोधन, वर्तमान सरकार र पार्टीको एजेण्डालगायत विभिन्न १४ वटा शीर्षकमा समेटिएको २३ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राजनीतिक प्रतिवेदनमाथि सातवटा प्रदेश र उपत्यकासहित आठवटा समूहमा छलफल भएको थियो । छलफलपछि समूहका नेताहरूले प्रतिवेदनमाथि सुझाव दिएका थिए ।
संघीय परिषद्को पहिलो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै संघीय परिषद् अध्यक्ष भट्टराईले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा अगाडि बढ्नुपर्ने बताएका छन् । राजनीतिक प्रतिवेदनमा भट्टराईले उल्लेख गरेका छन्, ‘पार्टी संगठनभित्रको कार्यप्रणाली सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा आधारित हुनेछ । पार्टीका महत्वपूर्ण निर्णयहरू व्यक्तिले हैन, बैठकले गर्नुपर्दछ । पार्टी संगठनको व्यवस्थित अभिलेख प्रणाली हुनुपर्दछ ।’ पार्टीमा अभिलेख राखिएका निर्णय मात्रै आधिकारिक निर्णय हुने भट्टराईको भनाइ छ । पार्टीमा जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्ति सह्य नहुने राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
पार्टीभित्रको विवादप्रति लक्षित गर्दै भट्टराईले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘पार्टीभित्र व्यक्त हुने सबै प्रकारका विचारलाई सम्मान गर्दै सकेसम्म सर्वसम्मत निर्णय गर्ने प्रयास गर्नुपर्दछ । तर, यदाकदा मत विभाजन गर्नुपर्ने अवस्था आउन सक्छ । मत विभाजनको अवस्थामा अल्पमत बहुमतको प्रक्रियालाई स्वाभाविक रूपमा लिनुपर्दछ । एकपटकको बहुमत सधैँलाई बहुमत, एकपटकको अल्पमत सधैँलाई अल्पमत भन्ने बुझ्नु हुँदैन । बहुमत वा अल्पमत पक्षमा परेको कारण कुनै इगो, पूर्वाग्रह वा बदलाको भावना राखिनु हुँदैन । बहुमतमा पर्दा अहंकार गर्ने, अल्पमतमा पर्दा निराश हुने गर्नु हुँदैन ।’
भट्टराईले विचार र कार्यदिशाको भिन्नताले पार्टीभित्र वैचारिक समूह देखापर्ने भन्दै राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘कुनै पार्टी सदस्यको विचार कुनै खास एजेण्डामा कसैसँग मिल्न र कसैसँग नमिल्न सक्दछ । यसलाई पनि कुनै ठूलो आपत्तिको विषय बनाइनु हुँदैन । तर, पार्टीमा वैचारिक अवैचारिक र स्थायी गुटबन्दी भने हुनु हुँदैन । पार्टीभित्रको आन्तरिक निर्वाचनमा हारजित हुन्छ । जित्नेले सबैथोक जित्यो, हार्नेले सबैथोक हार्यो भन्ने ठान्नु हुँदैन ।’
यसैगरी भट्टराईले चुनावी गठबन्धनका विषयमा आफ्नो पार्टीको चाहना र प्रयासले मात्रै पाँच दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव नहुने उल्लेख गर्दै यसका अरू दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्ने बताएका छन् । उनले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्दछ भनेका छन् । गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्नाभिन्नै राजनीतिक घटना भएको उल्लेख गर्दै भट्टराईले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।