शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चुनावी तालमेल: सत्ता गठबन्धनप्रति प्रचण्डले गरे आशंका

आइतबार, फाल्गुन २९ २०७८

काठमाडौं । चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनप्रति माओवादी केन्द्रका का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आशंका व्यक्त गरेका छन् । सत्ता गठबन्धन भित्रको सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसप्रति आशंका व्यक्त गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । 

 दिवङ्गत नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को नुवाकोटको पिपलटारमा निर्माण गरिएको पूर्णकदको शालिक अनावरण गर्दै शनिबार प्रचण्डले  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनका पक्षमा देखिएको समस्या समाधानका लागि सत्तारुढ गठबन्धनबीच भएको सहकार्य आसन्न निर्वाचनमा पनि कायमै राख्न कोसिस गरिने बताए । तर आसन्न निर्वाचनमा सकेसम्म गठबन्धनबीच सहकार्य गर्ने अन्यथा एक्लै प्रतिस्पर्धा गर्नपनि तयार रहन कार्यकर्तालाई उनले सुझाव दिए ।

‘केन्द्रीय कमिटीको हालै सम्पन्न बैठकले निर्वाचन केन्द्रित दुईमहिने अभियानको घोषणा गरेकाले अबको समय चुनावी तयारीको रहेको छ’, उनले भने, ‘अब प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्दै त्यसपछि जनताको घरघरमा पुगेर पार्टीलाई विजयी गराउनका लागि अपिल गर्ने नीति पार्टीले अवलम्बन गरेको छ ।’ 

‘स्थानीय तहको चुनावमा सत्तारुढ गठबन्धनबीच तालमेल प्रयास जारी रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनतासँगको सम्बन्ध बलियो बनाएर आफ्नै खुट्टामा उभिएर चुनाव जित्न उच्च प्राथमिकता दिने हो तर सत्तारुढबीचको सम्बन्ध कायम राख्दै तालमेललाई पनि ध्यान दिने र त्यसका लागि पनि नेतृत्वले प्रयास गरिराख्छ ।’

कांग्रेस बाहेकका सत्ता घटक तीनै तहको निर्वाचनसम्म तालमेल गरेर जाने पक्षमा छन् भने सत्तारुढ चार दल मध्ये कांग्रेसका केही युवा नेता भने चुनावी तालमेलको पक्षमा छैनन् ।

नेपालको कम्युनिष्ट आन्दोलन र माओवादी पार्टीको सङ्गठन निर्माणसहित सुदृढीकरणमा शालिन र शिष्ट नेता ‘दिवाकर’को निधनले ठूलो क्षति पुगेको र अहिले पनि अभाव खट्किरहेको अध्यक्ष प्रचण्डले बताए । 

‘पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’का संरक्षकसमेत रहेका प्रचण्डले विदुर–५ पिपलटार उद्यानमा बनाइएको शालिक मात्र नभई उनको योगदानको शिक्षा ग्रहण गर्ने थलोका रूपमा विकास गर्न सुझाव दिए ।