पोखरा । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा शुरु भएको छ । पोखरा सभागृहमा शुरु भएको प्रेस चौतारीको सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
महाधिवेशनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा पुगिसकेका छन् । नयाँ विधान बन्दसत्रमा प्रस्तुत गरिने बताइएको छ ।
देशभरकै जिल्लाहरु, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ । यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेशनका लागि मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ ।
०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । यो महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।