शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रुस–युक्रेन द्वन्द्वः अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको निम्ति संयुक्त राष्ट्रसंघको आह्वान

शुक्रबार, फाल्गुन २७ २०७८

न्यूओर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अन्तरराष्ट्रिय कानूनको स्पष्ट उल्लंघन रोक्न अन्तरराष्ट्रिय सहयोग र ऐक्यबद्धताको  निम्ति पनि उनले आह्वान गरे । संयुक्त राष्ट्रसंघको महासभामा अन्तरराष्ट्रिय सहयोग अभिवृद्धि गर्ने बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

रुस–युक्रेन द्वन्द्वलाई उद्धृत गर्दै गुटेर्रेसले शान्ति सबैभन्दा महत्त्वपूर्ण विश्वव्यापी सार्वजनिक हित भएको र यसलाई सहयोग पुर्‍याउन संयुक्त राष्ट्र संघको स्थापना भएको पनि गुटेरेसले बताए ।

यसैबीच अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ।

विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ। विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र  युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोग को लागि १३.६ बिलियन विनियोजन गर्नेछ ।

युक्रेनमा जैविक हतियार गतिविधिको रुसको दाबी अमेरिकाद्वारा अस्वीकार

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको  भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको हो।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए।

‘क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको’ , अमेरिकी विदेश मन्त्रालयले  बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले ‘यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्।’ भनेको छ ।

हाल युक्रेन र रुसबीच भएको युद्धका कारण विश्व नै आतंकित बनेको छ । यी दुई देशका पक्ष र विपक्षमा विश्व ध्रुवीकृत हुँदा विश्वयुद्धको अर्को अध्याय सुरू हुने हो कि भन्ने चिन्ता बढेको छ ।  रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको रुसका प्रवक्ता डिमित्री पेस्कोभले बताएका थिए । रुसले यसअघि भएका तीन चरणका वार्तालाई सकारात्मक रुपमा लिई त्यसलाई अगाडि बढाउनु पर्नेमा रुसले जोड दिएको भनिएपनि हालसम्म सार्थक वार्ता हुन सकेको छैन । अहिलेको समस्या समाधानका लागि अर्को चरणका प्रयासहरू गर्नुपर्ने देखिएको र त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्ने रुसी अधिकारीहरूको भनाइ छ ।
प्रवक्ता पेस्कोभले रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ टर्की प्रस्थान गर्न लागेको पनि जानकारी दिए । त्यहाँ हुने कार्यक्रममा उनलेयुक्रेनका समकक्षीसँग भेटवार्ता गर्ने पनि अपेक्षा गरिएको छ । 

जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच वार्ता

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ।   सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ।
राष्ट्रपति बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गरेका हुन् । उनीरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गरेकोअमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन पुन: पुष्टि गर्दै  रुसी आक्रमणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिएका छन् ।

-एजेन्सी