संखुवासभा । आज बिहान संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी १४ जना यात्रुको मृत्यु भएको थियो भने पाँच जना घाइते भएका थिए । ती मध्ये मृतक १० जना र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेका छन् ।
‘दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान हुन सकेको छैन’ उनले भने ।
आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो ।
बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
बस दुर्घटनामा घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।
दुर्घटनामा घाइते भएकाको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो ।