काठमाडौँ l नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । बुधबार गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाणसँग राजदूत बेरीले एमसीसीको व्याख्यात्मक घोषणा बारे कुरा गरेका छन् ।
राजदूत बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताए ।
उनले भने – ‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौं। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्’
उक्त भेटमा बेरीले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने बताए । बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताए।
साथै उनले एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार भेटेरै आफूले धन्यवाद पनि दिएको बताए । गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा रहने बताए ।