काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताएका छन्।
ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन्। अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन्। यो मान्छे हो कि पुतली हो? कुन सहि हो, कुन गलत हो?’
उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको भन्दै एमालेको नीति भने सुनाएनन्। ‘१ सय ६५ भोट सरकारसँग छ। एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन। एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन। देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ।’
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे। ‘नाम हेर्यो नेकपा माके, काम हेर्यो कांग्रेसको पुच्छर। नाम हेर्यो पार्टी फुटाएर एकीकृत, काम हेर्यो कांग्रेसका पछि लागेर समाजवादी। यो स्थितिमा हामी छौँ,’ ब्यंग्यात्मक शैलीमा उनले थपे।
अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताएका छन्। एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए।
‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन। यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, ‘हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौँ। ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं।’
सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ।
‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन्। एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन्। माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँड्दा ढुंगा बर्साउँछन्। कुरा बुझिँदैन र?’