काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसदमा आजदेखि छलफल सुरु हुने भएको छ ।
प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा सो प्रस्तावमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भइसकेको छ । सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले कार्यसूचीमा एमसीसीको विषय पनि परेको जानकारी दिए ।
यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।
यसैबीच
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा, अनिवार्य उपस्थितका लागि आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । एमसीसी अनुमोदनका लागि टेबल भएको प्रस्तावमाथि छलफल सुरु हुने भन्दै कांग्रेसले सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो ।
गएको आइतवार टेबल भएको एमसीसी सम्झौतामाथि आजदेखि संसदमा छलफल सुरू हुँदैछ।