काठमाडौं। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रकरणमा सत्ता गठबन्धनमा नै रहेको विभाजित मतबीच प्रदर्शन र आन्दोलन सुरु हुन थालेका छन्।
यसबाहेक यस प्रकरणमा अमेरिका र चीन खुलेरै नेपाल मामिलामा मैदानमा उत्रिएका छन्। चीनले अमेरिकालाई एमसीसी प्रकरणमा ‘बलजफ्ती कुटनीति’ गरेको आरोप लगाएको छ भने अमेरिकाले हिंसात्मक अभिव्यक्ति प्रजातान्त्रिक मान्यताविपरित भएको बताएको छ।
नेपालले अमेरिकासँग हस्ताक्षर गरेको एमसीसी कार्यान्वयनका लागि प्रतिनिधि सभामा पेस गरी पारित गर्नुपर्ने अवस्थामा मत विभाजनमा पारिएको छ। सत्ता गठबन्धनका दुई पात्रले चीन र अमेरिकालाई नेपाल मामिलामा बोल्न बाध्य पारेका हुन्।
यसलाई कतिपय विश्लेषकले जबरजस्ती हिसाबमा नेपाली नेताले अमेरिका र चीनलाई तानेको बताएका छन्। सत्ता गठबन्धनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिका र चीनलाई तानेको बताइन्छ।
‘एमसीसीलाई सत्ता गठबन्धनको सहमतिका आधारमा पारित गरिन्छ भनी पत्र लेखिएको सार्वजनिक भयो। प्रधानमन्त्री देउवा र प्रचण्डको उक्त काम ठिक थिएन त्यसले पनि अमेरिकालाई खुल्न सहज भयो’, उच्च स्रोतले भन्यो।
प्रचण्डको द्वेध चरित्रका कारण पनि समस्या भएको टिप्पणी भएका छन्। अमेरिकालाई पत्र लेख्ने र चीनलाई पारित हुन नदिने बचन दिएर कुटनीतिमा नै दुईखाले चरित्र देखाउने प्रचण्डका कारण मुलुक नै समस्यामा परेको बताइएको छ।
देउवा अमेरिकानिकट मानिन्छन् भने प्रचण्डले नेकपा सरकार हुँदा अमेरिकाविरूद्ध भेनेजुएला प्रकरणमा विज्ञप्ति जारी गरेका थिए।