शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमसीसी टेबुल भए गठबन्धन टुट्ने माओवादी चेतावनी

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रले यहि अवस्थामा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा पेस भई पास गर्ने अवस्था आए सत्ता गठबन्धन भत्किने चेतावनी दिएको छ।

माओवादीका सचेतक देव गुरुङले संशोधनबिना एमसीसी सदनमा टेबुल हुन नसक्ने र पारित गर्ने त सवाल नै पैदा नहुने बताएका छन्। उनले त्यसो भएका अहिले ५ दलीय गठबन्धन भत्किने पनि चेतावनी दिए।

‘एमसीसीका लागि राष्ट्रिय सहमति चाहिन्छ। त्यसो नगरी कांग्रेसले जबरजस्ती पेस गरेको खण्डमा सत्ता गठबन्धन भत्किन्छ’, उनले एउटा अन्तरवार्तामा भनेका छन्,‘एमसीसी नेपालको हितमा छैन, संविधानभन्दा माथि हुन सक्तैन।’

एमसीसीको विरोधमा गठबन्धनमा रहेको अर्को दल नेकपा एकीकृत समाजवादी पनि रहेको छ। त्यसका नेता झलनाथ खनालले संशोधनसहित पेस हुनुपर्ने बताउँदै आएका थिए। तर, पछिल्लो समय भने यो सम्झौता गर्नै नहुने पक्षमा खनाल उभिएका छन्।