बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एमसीसीविरुद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठन सडकमा

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौँ l एमसिसीको विरोधमा सत्ता गठबन्धन दलकै जनवर्गीय संगठन सडकमा उत्रिएका छन्।

सरकारले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल गर्ने तयारी गरिरहेका बेला सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका हुन्।

माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र वाइसियलले ‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ संसद भवन बानेश्वर घेराउ गर्ने भएका छन्। अनेरास्ववियुका नेताहरुका अनुसार बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गरिनेछ।

त्यस्तै एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि एमसिसीविरुद्ध संसद भवन घेराउ गर्दैछ।

    अन्य दल र समूहको पनि प्रदर्शन

एमसिसीविरुद्ध आज अन्य दल र समूहले पनि प्रदर्शन गर्ने भएका छन्। एमसिसीकै विरोधमा आज नेपाल बन्दको घोषणा गरेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभर प्रदर्शन गर्ने कार्यक्रम छ।

उपत्यकामा दिउँसो १२ बजे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन हुने नेताहरुले बताएका छन्।

त्यस्तै ‘एमसिसीविरुद्ध जनआन्दोलन- २०७८’ ले एमसिसी सम्झौताविरुद्ध बिहान ११ बजे माइतीघरदेखि संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम छ।

पूर्वसुरक्षाकर्मी परिषद् र नेपालका लागि नेपाली पार्टीले बिहान साढे ११ बजे माइतीघरमा एमसिसीको विरोधमा मौन जुलुस गर्ने कार्यक्रम छ।

‘हाम्रो नेपाल, हामी नेपाली अभियान’ले पनि दिउँसो १२ बजे माइतीघरमा विरोध प्रदर्शन गर्दैछ।

राप्रपाका भ्रातृ संगठनले पनि दिउँसो १२ बजे बबरमहलदेखि संसद भवनसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।