काठमाडौं। सत्ता गठबन्धनका प्रमुख तीन घटक नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार भेटवार्ता भएको छ।
बुधबार प्रतिनिधि सभा बैठकमा अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता टेबल गर्न सहमत भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाएका तीनै दलका नेताबीच घोषित स्थानीय चुनावलाई सार्ने तयारी भएको छ।
उनीहरूले अदालतकै प्रयोग गरी घोषणा भएको चुनावको मितिविरूद्ध बरिष्ठ अधिवक्तालाई रिट हाल्न लगाउने र त्यसलाई सार्नका लागि अदालतबाट परमादेश जारी गराउने विषयमा चर्चा चलाएको उच्च स्रोतले दाबी गरेको छ।
एमसीसी टेबुल गरेपछि उक्त काम गर्ने तयारीमा रहेका तीनै नेताले अदालतमा पेशीमा चढेर स्थगित भएको माधवकुमार नेपालसहित १४ सांसदविरूद्ध एमालेले हालेको मुद्दामा समेत अन्तरिम आदेश जारी नगराउने र सांसद पद कायम गराउने विषयमा अदालतकै प्रयोग गर्ने तयारी गरेका छन्।
यस्तै लामो समयदेखि संवैधानिक इजलासमा चढ्दै हेर्दाहेर्दैमा परेको सभामुख अग्नी सापकोटाविरूद्धको मुद्दा पनि खारेज गराउने तयारी गरेका छन्। पारित नहुने महाअभियोग प्रस्ताव दर्ता गरी राणालाई चार महिनासम्म निलम्बनमा परेको समयमा नै निमित्त प्रधानन्यायाधीश रहेका दीपककुमार कार्कीको कार्यावधि सकिनुअघि नै यी मुद्दाको छिनोफानो गर्ने तयारी छ।