शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विकास खर्च गर्न नसक्ने सरकारले बजेट घटायो, ८६ अर्बले खुम्चीयो बजेट

शुक्रबार, माघ २८ २०७८

काठमाडौँ । विकास खर्च गर्न नसकेपछि सरकारले बजेटको आकार नै घटाएको छ । प्रतिस्थापन बिधेयक मार्फत आएको बजेटको आकारमा  अर्थ मन्त्रालयले अर्ध बार्षिक समिक्षा गर्दै ६ दशमल ३ प्रतिशतले  बजेट घटाएको हो ।

बजेटको आकार झन्डै साढे ८६ अर्ब रुपैयाँले घटाइएको  अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयहरुको खर्च गर्ने क्षमता नपुगेको, तयारी नै नगरी आयोजनाहरु समेटिएको  भन्दै मन्त्रालयले बजेट घटाएको हो ।

चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब८२ करोड खर्च हुने अनुमान गरिएकोमा त्यसलाई संशोधन गरेर १५ खर्ब ४६ अर्ब २८ करोड खर्च हुने अनुमान गरिएको छ । जुन कुल विनियोजनको ९४ दशमलव ७ प्रतिशतहो ।

चालुतर्फ लक्ष्य अनुसारकै खर्च हुने देखिएपनि विकास खर्च भने कम हुने देखिएको छ । पुजीगत खर्च करिव १० प्रतिशतले घटाएर ३ खर्ब ४० अर्ब ३२ करोडमा सिमित गरिएको छ । त्यस्तै अर्थमन्त्रालयले वैदेशिक अनुदान र ऋणको आकार समेत घटाएको छ ।  

प्रतिस्थापन विधेयक मार्फत् आएको बजेटमा ५९ अर्ब वैदेशिक अनुदान आउने आंकलन गरिएको थियो । तर विकासका काम प्रभावकारी हुन नसकेपछि त्यसलाई घटाएर ५० अर्ब र वैदेशिक ऋण २ खर्ब ८३ बाट २ खर्ब ६ अर्बमा सिमित गरिएको छ। अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतले विकास खर्च गर्न बताएपनि मन्त्रालयहरुको क्षमता नहुँदा गतिलिन नसकेको स्वीकारे ।

अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाइएको यो पहिलो पटक भने होइन । सबै क्षेत्रलाई रिझाउन ठूलो आकारको बजेट ल्याउने र खर्च गर्न असफल भएपछि मध्यावधि समीक्षामार्फत आकार घटाउने प्रवृत्ति पुरानै हो ।

चालु आर्थिक वर्षको सात महिना वित्न लाग्दा समेत विकास खर्च १६ प्रतिशत मात्र भएकाले संशोधित बजेट खर्च हुनेमा पनि आशंका छ ।