शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अर्थतन्त्रमा चुनौतिका चाङ थपिदै, बढ्दैछ मुलुकको घाटा

बिहिबार, माघ २७ २०७८

काठमाडौँ । अर्थतन्त्रमा दिनदिनै चुनौतिका चाङ थपिदै गएका छन् । चुनावले आयात बढाउने निश्चीत छ । आयातले मुलुकलाई संकटतर्फ धकेलिरहेका समयमा फेरी चुनाव हुन लागेको देखिन्छ ।

आयात बढ्ने र रेमिट्यान्स घट्ने गर्दा चालु आर्थिक वर्षको छ महिनामै मुलुकको सोधनान्तर घाटा २ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । जबकी गत वर्षको यही समयमा सोधनान्तर स्थिति १ खर्ब२४ अर्ब ९२ करोडले बचतमा थियो ।

नेपाल राष्ट्र बैंकले भित्रिने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको अर्थतन्त्रलाई नै चुनौतिपूर्ण अवस्थामा धकेलेको जनाएको छ ।

राष्ट्र बैंकले आज देशको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थासार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिती १६ दशमलव ७ प्रतिशतले घटेर पुससम्म ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको जनाएको छ । जबकी २०७८ असार मसान्तमा यस्तो सञ्चिती १३ खर्ब ९९ अर्ब ३ करोड थियो । अहिलेको सञ्चितीले जम्मा ६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ ।

मुलुकमा रकम भित्र्याउने प्रमुख स्रोतको रुपमा रहेको रेमिट्यान्स गतवर्षको तुलनामा ५ दशमलव ५ प्रतिशतले कमी आएर ४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ११ दशमलव १ प्रतिशतले बढेको थियो ।

सोधनान्तर घाटा बढ्दै जाँदा मुलुकको विदेशी विनिमय सञ्चितीमा कमी आउँछ । विदेशी मुद्रामा आएको सञ्चितीले आगामी दिनको आयाात र वैदेशिक लगानीमा समेत प्रभाव पार्न सक्ने भएकाले राष्ट्र बैंकले यसलाई चुनौतिपूर्ण अवस्थाका रुपमा ब्याख्या गरेको हो ।

मुलुकबाट आयातका लागि ठूलो रकम बाहिरिएको छ । वस्तु आयात ५१ दशमलव १ प्रतिशतले वृद्धि भई ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव ८ प्रतिशतले घटेको थियो ।

त्यस्तै खुद सेवा आय ४६ अर्ब १७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २८ अर्ब ५२ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २०७.५ प्रतिशतले वृद्धि भई १० अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३ अर्ब ३३ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत भ्रमण व्यय ९५.८ प्रतिशतले वृद्धि भई २९ अर्ब ७२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५ अर्ब १८ करोड रहेकोमा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रहेको थियो ।