काठमाडौँ l सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेलगत्तै निर्वाचन आयोगले आबश्यक तयारी सुरु गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले तयारी थालेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार यतिखेर आयोग निर्वाचन कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार गर्न लागिरहेको छ । आन्तरिक कमिटी बनाएर कार्यविधि निर्देशिकाको ड्राफ्ट तयार पारिने उनले जानकारी दिए ।
‘कमिटीले तयार पारेको ड्राफ्टको मस्यौदालाई आयोगले अध्ययन गरी स्वीकृत गरेपछि स्थानीय तह निर्वाचनको कार्यविधि निर्देशिका तयार हुने पौडेलले जानकारी दिए ।
यस्तै, आयोगले मंगलबार सबै जिल्लाका निर्वाचन कार्यलयलाई निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहान भर्चुअल माध्ययममार्फत भएको बैठकमार्फत उल्लेखित निर्देशन दिएको पौडेलले बताए ।