काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न पहिल्यैदेखि लागेका नेता हुन् ।
देउवाले जसरी पनि एमसीसी पास गर्नुपर्छ भनेको भएपनि अन्य दलका नेताहरु एमसीसी पास गर्न नहुने पक्षमा रहेका छन् ।
देउवाले एमसीसी पास नभए संयुक्त पांच दलको गठबन्धनमा टुटफुटको अवस्था आउनसक्ने चेतावनीसमेत दिइसकेका छन् ।
शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा स्थानीय तह निर्वाचनको विषयमा छलफल भएको थियो । त्यतिबेलै एमसीसीको विषयमा पनि अलिकति छलफल भएको थियो ।
त्यसमा देउवाले एमसीसी अनुमोदन नगरे सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेको एक नेताले जानकारी दिए ।
यता माओवादीका तर्फबाट सहभागी भएका नेता नारायणकाजी श्रेष्ठले संसोधन नगरी एमसीसी अनुमोदन गर्न नहुने बताउंदै आएका छन् ।
तत्काल एमसीसीको विपक्षीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई देउवाको उक्त प्रस्ताव चेतावनीजस्तै बनेको छ ।