काठमाडौँ l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । सो बैठकमा प्रचण्डले पदाधिकारी छान्ने बताइएको छ ।
गएको पार्टीको महाधिवेशनमा अध्यक्ष र केन्द्रीय सदस्य चयन गरिसकेको माओवादीले पदाधिकारी चयनका लागि बर्षमान पुनलाई कुरिरहेको थियो । तर नेता पुन स्वदेश फर्किएपछि माओवादीले पदाधिकारी चयनका लागि बैठक बोलाएको हो ।
माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ । तर अहिले माओवादीमा महासचिव को बन्ला भन्ने चासो बढी देखिएको छ ।
अध्यक्षपछिको कार्यकारी पद भएकाले पनि महासचिवमा आउने नेताबारे चासो र चर्चा बढी देखिएको हो ।
माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचाररत भएकाले सो पार्टीले महाधिवेशनबाट महासचिव छान्न नसकेको हो । त्यसैले धेरैले पुनलाई नै भावी महासचिव देखेका छन् ।
तर, अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्माले पुनलाई दह्रो चुनौती दिएका छन् । संगठन निर्माण र रणनीतिमा शर्मा चतुर छन् । सबैलाई मिलाउने क्षमता राख्छन् । त्यसैले उनलाई महासचिवको दाबेदार देख्ने धेरै छन् ।
तर, पुनको संगठनमा बलियो पकड छ । खासगरी जनजाति समुदायमा उनी लोकप्रिय छन् । माओवादीको संगठन जनजाति समुदायमा बलियो छ ।
यदि वर्षमान पुनलाई महासचिव नबनाइए विद्रोह हुन सक्ने खतराका कारण पनि प्रचण्ढ सकसमा छन् । त्यसैले बीचबाट पम्फा भुसाललाई महासचिव बनाउने कि भन्ने पनि विकल्प खोजिएको स्रोतले बतायो ।