बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

३० लाख बुझाएर यसरी जेलबाट भाग्न सफल भएका थिए यमराज तर फेरि कारागारमा

मंगलबार, माघ ११ २०७८

काठमाडौं। हत्या कसुरमा आजीवन काराबासको सजाय पाएका यमराज परियार प्रहरी र जेलरलाई गरी ३० लाख बुझाएर भाग्न सफल भएको तथ्य खुलेको छ। लुकीछिपी भारतमा बसेका उनलाई प्रहरीले महिनादिनमा नै पक्राउ गरी ल्याएपछि यस्तो तथ्य खुलेको हो।

यमराज परियारले नै उपचारका लागि बाहिर लैजाने प्रहरी जवानलाई ५ लाख र जेलरलाई २५ लाख घुस दिएको बयानमा बताएका छन्। भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका २९ वर्षीय यमराजले प्रारम्भिक अनुसन्धानमा आफूलाई उपचारका लागि बाहिर ल्याउने प्रहरी जवान धनबहादुर चौधरीलाई ५ लाख रुपैयाँ र जिल्ला कारागारका जेलर युवराज परियारलाई २५ लाख रुपैयाँ बुझाएको बयान दिएका हुन्।

जन्मकैद भोगिरहेका यमराज ८ पुसमा उपचारका लागि अस्पताल आउनेक्रममा चालक चौधरीले चलाएको लु३१प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए। दाङको घोराहीस्थित विपि चोकबाट मोटरसाइकल लिएर उनी फरार भएका थिए।

दाङको राजपुर गाउँपालिका–३ स्थायी घर भएका यमराज कैद सजाय काटिरहेको ७ वर्ष पुगेको थियो। ‘भागेर भारतमा बसेको अवस्थामा फेला पारेका हौं, भेस बदलेर बसेको थियो’, प्रहरी अधिकारी भन्छन्,‘जेलमा हुँदा दाह्री कपाल पालेको उसले काटेको थियो।’

विभिन्न मोबाइलका गरी ६ वटा सीमकार्ड प्रयोग गरेको प्रहरीले पत्तो लगाएको थियो। उनको मोबाइल र च्याटलाई नै मुख्य आधार बनाएर भारतबाट उसलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो।

उनलाई भगाउनका लागि भाईसहित ५ जनाले सहयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले भारतीय प्रहरीको सहयोगमा यमराजलाई पन्जाबको लुधियानास्थित एक झुपटी बस्तीबाट पक्राउ गरेको हो।