बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

८ हजार बढी अमेरिकी सैनिक हाई अलर्टमा तैनाथ

मंगलबार, माघ ११ २०७८

एजेन्सी l युक्रेनलाई लिएर तनाव बढिरहेका बेला अमेरिकाले छोटो सूचनामै तैनाथ गर्नका लागि केही हजार सैनिक तयारी अवस्थामा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन तनावलाई मध्यनजर गरी करिब ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

रुसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरेको अमेरिकासहितका पश्चिमा राष्ट्रको आरोप छ । युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेको रुसले भने सैन्य आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

रुसी गतिविधिको साझा प्रतिवादको योजनामा रहेको पश्चिमा राष्ट्रहरु निरन्तर छलफलमा छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युरोपेली राष्ट्रका नेताहरुसँग साझा रणनीतिबारे छलफल गरेका छन् ।

पेन्टागनले अहिलेसम्म सेना तैनाथ गर्ने सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ । रुसले सैन्य गतिविधि गरेमा वा सैन्य गठबन्धन नेटोले ‘र्‍यापिड रियाक्सन फोर्स’लाई सक्रिय बनाउने निर्णय गरेमा मात्रै सेना तैनाथ हुने पेन्टागनका प्रवक्ता जोन क्रिर्बीले बताएका छन्। युक्रेनमा सिधै अमेरिकी सैनिक तैनाथ गर्ने योजना भने नरहेको उनले बताए ।

डेनमार्क, स्पेन, फ्रान्स र नेदरल्याण्ड्ससहितका नेटो सदस्य राष्ट्रहरुले युरोपेली क्षेत्रको सुरक्षा अवस्थामा रुसी जोखिम बढेको भन्दै सुरक्षा मजबुद बनाउन युद्ध विमान तथा वारसिप पूर्वी युरोपमा पठाउनेबारे विचार गरिरहेका छन् ।