काठमाडौँ – राज्यकोषलाई खोक्रो पारिसकेका कथित गणतन्त्रधारीहरू कहिलेकाहीँ राजा ज्ञानेन्द्र शाहको वक्तव्य, भ्रमण र लोकप्रियता देखेर आत्तिन्छन्। अनि हठात् प्रतिक्रिया दिन्छन्। जसले देश छाडेन, जसले जनताका निम्ति सहज दरबार छाडिदियो आज त्यहाँभित्र कथित गणतन्त्रवादीहरूको दोहनको कथा भरिपूर्ण छ।
एउटा भनाई छ– जब अरु सोच्दछन् उनीहरू के लिन सक्छन् तर एउटा सही राजाले के दिन सक्छु भन्ने मात्र सोच्दछन्। आखिर ज्ञानेन्द्रको यहि पथबाट रन्थनिएका छन् पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालहरू। एकजना विश्लेषक भन्छन्,‘उनको अहिलेको लोकप्रियतालाई कमजोर आँक्नु हुन्न। देशभर जनाधार बलियो भएका तर मौन रहेका शक्ति हुन्।’
देशव्यापी रुपमा राजसंस्थाको बलियो जनाधार रहेको पछिल्लो समयको गतिविधिले स्पष्ट पारेको छ। खासगरी राप्रपाको महाधिवेशनको परिणामपछि कमल थापाले पनि राजा ज्ञानेन्द्रको शक्तिको विषयमा आलोचनात्मक रुपमा नै व्याख्या गरेका छन्। उनले भनेका थिए,‘निर्मल निवासले खेलिदियो।’
राष्ट्रको माया गर्ने शक्ति रहेका कारण उनी मौन रहेको जानकारहरूको बुझाई छ। राजाको प्रत्यक्ष शासनकालमा मन्त्री रहेका एक जना नेता भन्छन्,‘२३७ बर्षको बिरासतलाई जबरजस्त राख्न चाहेको भए अथवा देशको नभई राजाको पदमात्र चाहिएको भए ज्ञानेन्द्रले विदेशीसँग सम्झौता गरी श्रीलङ्कामा लिट्टेको नामोनिशान मेटाए जसरी माओवादीको सर्वनाश गर्न सक्ने थिए। त्यसका लागि गिरीजाप्रसाद कोइराला र प्रधानमन्त्रीका लागि मरिहत्ते गरेका माधवकुमार नेपाललाई विश्वासमा लिन उनलाई कुनै कठिनाई थिएन।’
उनी अगाडि जोड्छन्,‘जसले माओवादीसँग १२ बुँदे गरायो, उसैको सहयोगमा माओवादीलाई नामेट पार्न सक्ने थिए। तर, देशको गौरव र इतिहासको रक्षाका निम्ति उनले राजा भन्ने पगरीलाई खासै महत्व दिएनन्। नत्र जनआन्दोलनमा १९ जना मात्र मारिने होइन, रक्तपात हुने थियो।’
राजाको राष्ट्रप्रेम र मौनताका कारण नै ठूलो दुर्घटना नभएको विषयलाई नजरअन्दाज गर्न नहुने कतिपयको बुझाई छ। अहिले पनि उनको पक्षमा जनमत बलियो भएकाले नै विवेकशील साझालगायतका पार्टीले पनि हिन्दूत्व र राजसंस्थाका विषयमा वकालत गरिरहेका छन्। ‘एमाले जस्तो ठूलो पार्टी पनि हिन्दूत्वको पक्षमा उभिनु भनेको राजसंस्थासँग मिल्दोजुल्दो शासन पद्दतीलाई स्वीकार गर्ने संकेत पनि हो’, उच्च स्रोतले भन्यो,‘राजा मौन तर बलियो शक्तिका रुपमा छन्।’
कोरोना महामारीबीच गत २७ पुसमा पृथ्वीजयन्तीमा सिंहदरबारमा माल्यार्पण गर्न पुगेका ज्ञानेन्द्रको पछि देखिएको जनमानसलाई हेरेर पनि कस्तो शक्ति हुन् भन्ने हेक्का राख्नुपर्ने राजावादीहरूको भनाई छ। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत भन्छन्,‘विदेशीले ल्याइदिएको गणतन्त्रको नारा लगाउनले राजाको ताकत अबका केही बर्षमा देख्नेछन्।’